१९ असोज,वीरगञ्ज । लगातार परेको अविरल वर्षाका कारण बाढीपीडित बनेका पर्सा जिल्लाका परिवारहरूका लागि आजदेखि बिहान र बेलुकी दुई छाक पोसिलो खाना वितरण गर्ने कार्य सुरु गरिएको छ।
जिल्ला समन्वय समिति पर्साका सभापति अजय सर्राफ, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, उद्योग बाणिज्य संघ पर्साका सभापति हरि गौतम, नेपाल रेडक्रस सोसाइटी वीरगंजका सभापति बृजकिशोर पटेल लगायतको सहयोगमा यो सेवा संचालन गरिएको हो।
नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईले जानकारी दिनुभयो कि पहिलो दिन २५० जनाका लागि खाना तयार गरी वितरण गरिएको छ। दुई दिनदेखि निरन्तर परेको वर्षाका कारण घरबार बिहिन बनेका परिवारहरूलाई लक्षित गरी यो पहल गरिएको हो।
अध्यक्ष चौगाईले बाढीपीडितहरूको राहतका लागि आवश्यक परे अभियानलाई अझ व्यापक बनाउन तयारी भइरहेको पनि जानकारी गराउनुभयो। यस अभियानमा समाजका स्वयंसेवकहरू निरन्तर प्रभावित क्षेत्रहरूमा पुगेर राहत वितरण र सहयोग कार्यमा संलग्न छन्।
यस मानवीय पहलले बाढीपीडितहरूलाई राहत उपलब्ध गराउनुका साथै सामाजिक सहकार्य र मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेको छ।
















