Logo

१९ असोज, इनरुवा । सप्तकोशी नदीमा पानीको सतहले खतरा रेखा पार गरेपछि कोशी व्यारेजका सबै ५६ मध्ये सम्पूर्ण ढोका खोलिएको छ। यस कारण व्यारेज क्षेत्रमा अत्यधिक जोखिम बढेको छ भने हेभी (भारी) सवारी साधनलाई आवतजावतमा रोक लगाइएको छ। सुनसरी प्रहरी प्रमुख एसपी केशवकुमार थेवेले आइतबार जानकारी दिँदै भने, “हेभी गाडीलाई रोक लगाइएको छ तर साना र मझौला सवारी साधनलाई भने आवतजावत गर्न रोकिएको छैन।”

शनिबारदेखि लगातार परेको वर्षाले कोशी नदीको बहाव तीव्र बढेको छ। आइतबार अपराह्नदेखि फेरि भारी वर्षाको क्रम शुरु भएपछि कोशी व्यारेजमा हेभी सवारी साधनलाई रोक लगाइएको थियो। यसैबीच, सुनसरीसहित कोशी प्रदेशका पहाडी जिल्लाहरूमा वर्षा क्रम जारी रहेकोले सुरक्षा र सतर्कता उच्च बनाइएको छ।

भारतमा बाढी पसेपछि जोखिम बढ्यो

कोशी व्यारेजका सबै ढोकाहरू खुला भएपछि भारतको सुपौल र अररिया जिल्लाका केही भागमा बाढी पसेको छ। यसले भीमनगर, वीरपुर, बसमतिया लगायतका बस्तीहरूलाई उच्च जोखिममा पारेको छ। भीमनगरका बासिन्दा रक्की सिंहले नेपाल प्रेसलाई भने, “हामी सुरक्षित स्थलतर्फ स्थानान्तरण भइरहेका छौं। बाढीले हाम्रो जीवनलाई धेरै जोखिममा पारिरहेको छ।”

प्रदेश सरकारको टोली घटनास्थलमा

सप्तकोशी नदीको स्थिति अनुगमनका लागि प्रदेश सरकारका मन्त्री रेवती भण्डारीसहितको टोली कोशी व्यारेज पुगेको छ। उनीहरूले नदीको अवस्था निरीक्षण गर्दै थप आवश्यक कदम चाल्ने योजना बनाइरहेका छन्।


सम्बन्धित समाचार