२० असोज, वीरगञ्ज । शुक्ररबार र शनिबारको अविरल वर्षा र डुबानका कारण विस्थापित भएका मधेश प्रदेशका बाढीपीडित अझै घर फर्किन सकेका छैनन्। बागमती र लालबकैया नदीको जलस्तर घटे पनि प्रभावित क्षेत्रहरूमा हिलो र पानी जमेकाले स्थानीयवासी घर फर्किने अवस्थामा नरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीका अनुसार डुबान हटे पनि अधिकांश बस्तीमा जमेको फोहरपानी, हिलो र क्षतिग्रस्त घरका कारण बासस्थान असुरक्षित बनेका छन्। विस्थापित परिवारहरू स्थानीय मन्दिर, विद्यालय, छरछिमेक र आफन्तका घरमा आश्रय लिएर बसिरहेका छन्।
मधेश प्रदेशका आठ जिल्लामध्ये रौतहटमा सबैभन्दा धेरै बाढीपीडित प्रभावित भएका छन्। मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता गणेश नायकका अनुसार रौतहटमा ३ हजार २ सय ४० परिवार विस्थापित भएका छन्। महोत्तरीमा ७१५, सिराहामा ५७, पर्सामा १८, धनुषामा १७, सप्तरीमा ७ र बारामा ६ परिवार विस्थापित भएको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ।
गत दुई दिनको लगातार वर्षाले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका धेरैजसो बस्तीहरू डुबानमा परेका थिए। बाढीका कारण खेतबारी, घर तथा आवासमा ठूलो क्षति पुगेको प्रारम्भिक तथ्याङ्कले देखाएको छ।
स्थानीय प्रशासन र सुरक्षाकर्मीहरू उद्धार तथा राहत कार्यमा सक्रिय रहेको र विस्थापितहरूलाई अस्थायी आवास तथा खाद्यान्न आपूर्तिको व्यवस्था मिलाउने प्रयास भइरहेको जनाइएको छ। बाढीग्रस्त क्षेत्रमा स्वास्थ्य जोखिम र सरसफाइका चुनौती पनि देखिएका छन्।















