२१ असोज, काठमाडौँ । ‘जेन-जी’ आन्दोलनका अगुवा तथा हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङ नेतृत्वको टोलीले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गर्न खोजेपनि प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । जाहेरी अस्वीकारपछि गुरुङ समूहले असन्तुष्टि जनाउँदै प्रहरीलाई धम्कीपूर्ण अभिव्यक्ति दिएको र त्यसलगत्तै काठमाडौं प्रहरीले आफ्ना सबै इकाइहरू उच्च सतर्कतामा राखेको स्रोतले जनाएको छ ।
गुरुङको टोली सोमबार साँझ भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको थियो। टोलीले जेन-जी आन्दोलनका क्रममा भएको दमन र हिंसाको प्रत्यक्ष जिम्मेवारका रूपमा ओली र लेखकलाई तत्काल पक्राउ गर्न माग गर्दै जाहेरी दर्ता गर्न खोजेको थियो । तर, प्रहरीले उक्त जाहेरी दर्ता गरेन, “उक्त घटनाको छानबिन हाल पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगले गरिरहेको छ,” भन्ने कारण देखाएको थियो ।
प्रहरीका एक अधिकृतका अनुसार, जाहेरी “रितपूर्वक नआएको” र “आयोगको अनुसन्धानलाई दोहोर्याउने स्थिति नबनोस्” भन्ने उद्देश्यले दर्ता गर्न नमानिएको हो ।
प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि गुरुङको टोलीले असन्तुष्टि जनाउँदै, “अब सडकबाटै देखाइदिन्छौँ,” भन्ने चेतावनी दिँदै परिसरबाट बाहिरिएको थियो । सो अभिव्यक्तिपछि प्रहरी संगठनमा सतर्कता बढाइएको र सम्पूर्ण बिट प्रहरीलाई बोलाइएको काठमाडौं प्रहरी परिसरका स्रोतहरूले जनाएका छन् ।
प्रहरीका अनुसार, सोमबार बेलुकी साढे ७ बजेपछि ‘भिक्टर कन्ट्रोल’ कल साइन मार्फत उपत्यकाभरका सबै बिट प्रहरीहरूलाई सम्बद्ध वृत्तमा फिर्ता हुन निर्देशन दिइएको थियो । उपत्यकामा रहेका ६० वटा प्रहरी युनिटहरूलाई सतर्क रहन आदेश गरिएको हो ।
एक प्रहरी अधिकारीले भने, “बिटमा जनशक्ति कम हुने र साधन स्रोत पनि सीमित हुने भएकाले आवश्यक परेको खण्डमा बल प्रयोग गर्न सजिलो होस् भनेर सबैलाई रिजर्भमा राखिएको हो।”
सामाजिक सञ्जालमा गिरफ्तारी मागको अभियान
सुदन गुरुङ नेतृत्वको समूहले जाहेरी दर्ता प्रयाससँगै सामाजिक सञ्जालमा ओली र लेखकको तत्कालीन गिरफ्तारी माग गर्दै अभियान सुरु गरेको छ। सोमबार बेलुकीदेखि नै #ARRESTKPOLI, #ARRESTRAMESHLEKHAK, र #ARRESTMURDERERS ह्यासट्यागमार्फत फेसबुक, ट्विटर (X), र इन्स्टाग्राममा अभियान फैलिएको छ।
सामाजिक सञ्जालमा प्रकाशित एक पोस्टरमा ओली र लेखकका तस्बिरसहित “हत्या गर्नेहरूलाई पक्राउ गर्नुहोस्, नत्र कदम चाल्न बाध्य हुनेछौँ” भन्ने लेखिएको छ। सो पोस्टर सुदन गुरुङले आफ्नै फेसबुकमार्फत सेयर गरेका छन् ।
समाचार लेख्दासम्म गुरुङको पोस्टमा ३० हजारभन्दा बढी प्रतिक्रिया र ६ हजारभन्दा बढी सेयर भएका थिए । अन्य जेन-जी अभियन्ताहरूले पनि उक्त मागलाई समर्थन जनाउँदै समान पोस्टरहरू सामाजिक सञ्जालमा राखेका छन् ।
जेन-जी आन्दोलन र छानबिन आयोग
गत भदौ २३ र २४ गते देशभर फैलिएको जेन-जी आन्दोलनका क्रममा सुरक्षा निकायले अत्यधिक बल प्रयोग गरेको आरोप लागेको थियो । ती दुई दिनमा २५ सयभन्दा बढी गोली चलाइएका र ७५ जनाभन्दा बढीको मृत्यु भएको प्रतिवेदनहरू सार्वजनिक भएका छन् ।
उक्त घटनाको छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ । आयोग हाल प्रत्यक्षदर्शी र प्रमाण संकलनको प्रक्रियामा रहेको छ ।
जेन-जी आन्दोलनमा भएको दमनका लागि तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक जिम्मेवार रहेको भन्दै आलोचना भइरहेका बेला सरकारी पक्षले भने अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।
गृह मन्त्रालयका उच्च स्रोतका अनुसार, “आयोगको प्रतिवेदन नआएसम्म कुनै ठोस कदम नचाल्ने नीति सरकारले लिएको” बताइएको छ।
फेसबुकमार्फत सुदन गुरुङको फेक न्युजको खण्डन
हामी नेपाल’ अभियानका संयोजक सुदन गुरुङले आफू र आफ्नो टोलीले प्रहरीलाई धम्की दिएको भन्ने समाचारलाई आधारहीन र असत्य भन्दै खण्डन गरेका छन् ।
गुरुङले सोमबार राति आफ्नो फेसबुक पोस्टमा ‘Fake News Alert’ शीर्षकसहित सन्देश सार्वजनिक गरेका छन् ।
गुरुङले आफ्नो फेसबुक पेजमार्फत वक्तव्य जारी गर्दै उक्त समाचारलाई “पूर्ण रूपमा भ्रामक, प्रचारमुखी र राजनीतिक उद्देश्यप्रेरित” भनेका छन्। उनले लेखेका छन्, “केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलाइएको गलत समाचारमा विश्वास नगर्नुहोस्।”
हाल केही अनलाइन माध्यम र सामाजिक सञ्जालमा ‘सडकबाटै देखाइदिन्छौँ भन्दै सुदन गुरुङको टोलीले प्रहरीलाई धम्क्यायो’ भन्ने शीर्षकमा समाचार प्रकाशित भएका छन्। ती समाचारमा काठमाडौं उपत्यका प्रहरी परिसरले सो धम्कीका कारण सम्पूर्ण बिटका प्रहरीहरूलाई फिर्ता बोलाएको दाबी गरिएको थियो ।
तर गुरुङले आफ्नो टोलीले कुनै पनि प्रहरी अधिकारी वा कार्यालयलाई धम्की नदिएको स्पष्ट पारेका छन् । उनका अनुसार, अभियानले शान्तिपूर्ण र कानुनी दायराभित्र रहेर आफ्ना मागहरू अघि बढाइरहेको छ।
गुरुङ्गको स्टाटस् :
















