Logo

२१ असोज, काठमाडौँ । गएको शुक्रबार रातिदेखि देशभर निरन्तर वर्षा भएपछि उत्पन्न प्राकृतिक विपद्का कारण ६० जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाका अनुसार मृत्यु हुनेमध्ये १९ पुरुष, २६ महिला र १५ जना नाबालक छन्।

सबैभन्दा बढी क्षति इलाममा भएको छ, जहाँ पहिरोमा परी ३७ जनाको ज्यान गएको छ। त्यसपछि पाँचथरमा आठ, उदयपुरमा तीन, खोटाङमा दुई र सुनसरीमा एक जनाले ज्यान गुमाएका छन्।

त्यस्तै, रौतहटमा तीन जना चट्याङको प्रहारबाट मृत्यु भएका छन् भने मोरङ, सिन्धुली र महोत्तरीमा एक–एक जनाको ज्यान गएको छ । सशस्त्र प्रहरी बलका अनुसार सिन्धुपाल्चोकमा एक नाबालकको मृत्यु भएको छ भने काभ्रेपलाञ्चोकमा दुई महिलाको शव भेटिएको छ।

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन् भने उद्धारका कार्यहरू निरन्तर चलिरहेका छन् । सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका टोलीहरू प्रभावित क्षेत्रमा खटिएका छन्।

थापाका अनुसार, “उद्धार टोलीले पहिरो र चट्याङ प्रभावित क्षेत्रमा निरन्तर खोजी तथा उद्धार कार्य सञ्चालन गरिरहेको छ।” विपद्‌पीडितहरूलाई अस्थायी रूपमा सुरक्षित स्थानमा सारिएको र राहत वितरण सुरु गरिएको पनि उनले जानकारी दिए।


सम्बन्धित समाचार
भर्खरै