२१ असोज, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बस्ने भएको छ। बैठक मंगलबार बिहान साढे ११ बजे प्रधानमन्त्री कार्यालयमा आयोजना हुने प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले जानकारी दिए।
बैठकको मुख्य एजेन्डा बाढी, पहिरो र अन्य प्राकृतिक विपद्बाट उत्पन्न जनधनको क्षति र तत्काल आवश्यक व्यवस्थापनको विषयमा केन्द्रित हुने बताइएको छ। बैठकमा पीडित परिवारलाई राहत उपलब्ध गराउने, अवरुद्ध सडक र भौतिक संरचना सञ्चालनमा ल्याउने, मृतक र बेपत्ता परिवारलाई कानुन अनुसार राहत उपलब्ध गराउने, विपद् पश्चात फैलिन सक्ने महामारीजन्य रोग व्यवस्थापन गर्ने, अस्थायी आवास निर्माण गर्ने लगायत कूल ९ एजेन्डामा छलफल हुने प्राधिकरणले जनाएको छ।
गत असोज १७, १८ र १९ गतेको भारी वर्षा र मौसमी प्रणालीका कारण देशभर आएको बाढी र पहिरोले ६० जनाको ज्यान लिएको थियो। सबैभन्दा बढी क्षति इलाममा भएको छ। यसका साथै बाटाघाटा, पुल, जलविद्युत् आयोजना लगायत विभिन्न भौतिक संरचनामा करोडौं रुपैयाँको क्षति पुगेको छ।
बैठकमा अर्थमन्त्री, ऊर्जा मन्त्री, गृह मन्त्री, उद्योग मन्त्री, शिक्षा मन्त्री, कृषि मन्त्री, सञ्चार मन्त्रीसहित सातै प्रदेशका मुख्यमन्त्रीलाई पनि बोलाइएको छ। यसबाहेक, विज्ञ सदस्यको रूपमा पूर्वमन्त्री डा. गंगालाल तुलाधर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, प्रधानसेनापति र गृहमन्त्रालयका सचिव पनि सहभागी हुनेछन्।
कार्यकारी प्रमुख भट्टका अनुसार बैठकले हाल विपद् प्रभावित क्षेत्रको तत्काल राहत तथा उद्धार कार्य तीव्र पार्ने, पूर्वाधार पुनःनिर्माण सुरु गर्ने र दीर्घकालीन विपद् जोखिम न्यूनीकरण रणनीति निर्धारण गर्ने निर्णय लिने तयारी गरेको छ।















