Logo

२१ असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १०, घडिअर्वास्थित ऐतिहासिक रामजानकी मन्दिर पुनः कब्जामा पर्न नदिन स्थानीयवासी एकजुट भएका छन्। मंगलबार घडिअर्वामा आयोजित स्थानीयहरूको भेलाले मन्दिरको सञ्चालन र व्यवस्थापनका लागि ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ।

समितिको प्रमुख संरक्षकमा वडाध्यक्ष सुशील साह कानु रहेका छन् भने सदस्यहरूमा विदूर प्रसाद कलवार, नन्दु साह कानु, हरिया साह कानु, प्रकाश सिंह, राजु साह तुराहा, मनोहर साह, प्रभाकर गुप्ता, अंगद साह कानु, मुन्ना साह, सन्तोष मरहठ्ठा र क्रान्ति शाह रहेका छन्।

तदर्थ समितिका सदस्य मनोहर साहका अनुसार मन्दिरका कथित पुजारी शम्भुनाथ तिवारीले फेरि मन्दिर कब्जा गर्ने प्रयास थालेपछि यो समिति गठन गरिएको हो। “अब मन्दिरको सम्पूर्ण सञ्चालन, व्यवस्थापन र स्वामित्व समितिले नै गर्नेछ,” साहले भने।

समितिका अर्का सदस्य प्रभाकर गुप्ताले पनि मन्दिर सबै वीरगन्जवासीको साझा सम्पत्ति भएको उल्लेख गर्दै यसको रक्षा गर्न जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताए। उनले महानगरपालिकालाई औपचारिक रूपमा जानकारी दिने र मेयरको निर्देशनअनुसार अघि बढ्ने बताए।

आफू मन्दिरको पुजारी भएको दाबी गर्दै शम्भुनाथ तिवारीले विगत ३० वर्षदेखि मन्दिरको प्रवेशद्वार बन्द गरेर जग्गा अतिक्रमण गर्दै पक्की संरचना बनाएका थिए। ती सटरहरू भाडामा दिएर आम्दानी गर्ने कार्य भइरहेको थियो।

तर, २०७९ चैत २५ गते वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको नेतृत्वमा डोजर लगाएर ती अवैध संरचना भत्काइएको थियो। मन्दिरलाई अतिक्रमणमुक्त बनाएर सौन्दर्यकरण गर्दै भारतबाट भगवान् राम, सीता र हनुमानको मूर्ति ल्याएर प्रतिष्ठा गरिएको थियो।

हालै जेजिएन आन्दोलनको मौका छोपी पुजारी तिवारीले फेरि मन्दिर कब्जाको प्रयास थालेपछि स्थानीय युवाहरू शुक्रबार बिहान मन्दिरमा भेला भएर प्रतिवाद गरेका थिए। तिवारीले मन्दिरको पर्खाल भत्काई छेउको आफ्नै घरतर्फ गेट बनाउने काम थालेको देखिएको छ।

पुजारी तिवारीले वीरगन्जस्थित उच्च अदालतको अस्थायी इजलासमा रिट दर्ता गरेका थिए। तर, उक्त रिट अदालतले अस्वीकार गरेपछि महानगरले पक्की संरचना हटाएको थियो। २०७९ फागुन ४ मा तिवारीको पक्षमा जारी भएको अन्तरिम आदेश पनि २०७९ चैत २४ मा खारेज भएपछि भोलिपल्ट नै मन्दिर अतिक्रमणमुक्त गरिएको थियो।


सम्बन्धित समाचार