२२ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ स्थित भानु चोक (नयाँ बसपार्क चोक) को शाह प्याराडाइस होटेलमा दुई जना मृत अवस्थामा भेटेका छन् ।
होटेलको पहिलो तलामा रहेको कोठा नम्बर १११ मा दुई भारतीय नागरिक मृत फेला परेका प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मृतकहरू भारतको त्रिपुरा राज्यका स्थायी बासिन्दा हुन् । मृतक ६७ वर्षीय सजल आचारजी र उनका २४ वर्षीय छोरा सागर आचारजी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालका अनुसार उनीहरूले असोज १९ गते बिहान ४ बजे उक्त होटलमा कोठा लिएका थिए । मङ्गलवार साँझसम्म पनि कोठाको ढोका नखुलेपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी टोली पुगेर छेउको कोठाको भेन्टिलेटरमार्फत अवलोकन गर्दा छोरा सागर आचारजी पङ्खामा झुन्डिएको र बुवा सजल आचारजी बेडमा पल्टिएको अवस्थामा फेला परेका थिए । त्यसपछि प्रहरीको टोलीले ढोका खेलेर भित्र प्रवेश गरी शव नियन्त्रणमा लिएको डिएसपी लम्सालले बताए ।
होटल सञ्चालकका अनुसार मृतकहरूले सोमबार दिउँसोसम्म नियमित रूपमा खाना र रुम सर्भिस मागेका थिए । तर, साँझपछिदेखि सम्पर्क हुन नसक्दा शंका उत्पन्न भएको थियो । मंगलबार बिहान कोठा सरसफाइका लागि पठाइएका कर्मचारीले पनि ढोका नखुलेको बताएपछि सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा कोठाभित्र कुनै किसिमको जबरजस्ती प्रवेश वा तोडफोडको प्रमाण भेटिएको छैन । घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल, वीरगञ्जमा पठाइएको छ । पर्सा प्रहरीले घटनाको सम्पूर्ण विवरणका लागि होटल सञ्चालक, कर्मचारी र अन्य व्यक्तिहरूसँग बयान संकलन गरिरहेको जनाएको छ ।















