Logo

प्रतिकात्मक चित्र

२२ असोज, काभ्रेपलाञ्चोक, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकमा बुधबार बिहान भएको भयानक सडक दुर्घटनामा परी ८ जना घाइते भएका छन्, जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।

काठमाडौंबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा२ख ६५७९ नम्बरको यात्रुवाहक बसले सोही दिशामा गइरहेको सडक विभागको बा ५ ख ६८३ नम्बरको आइचर ट्रकलाई पछाडिबाट ठक्कर दिएको थियो । प्रहरीका अनुसार, बसले तीव्र गतिमा ठक्कर दिएपछि ट्रक अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको थियो।

गम्भीर घाइते को–को ?

प्रहरी चौकी पाँचखालका प्रहरी निरीक्षक प्रशान्त तामाङका अनुसार, घाइते हुनेहरूमा ट्रकमा सवार ६ जना र बसका २ जना यात्रु छन्। ट्रकमा सवार ३ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते हुनेहरूमा काभ्रेको मण्डन देउपुर–६ का रेशम थापा, बेथानचोक–४ का ४३ वर्षीय लायतलाल तामाङ, झापाका ५८ वर्षीय लाल बहादुर राई रहेका छन् । अन्य पाँच जना (ट्रकका तीन र बसका दुई यात्रु) लाई भने सामान्य चोट लागेको छ । घाइतेहरूको तत्काल उद्धार गरी पाँचखाल आधारभूत अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धुलिखेल हस्पिटल पठाइएको छ ।

बस चालकलाई प्रहरी चौकी पाँचखालले नियन्त्रणमा लिएको छ र दुर्घटनाबारे थप गहन अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तामाङले जानकारी दिए।


सम्बन्धित समाचार
भर्खरै