Logo

२२ असोज, काठमाडौं । बुधबार सेयर बजारमा लगानीकर्ताहरू निराश बनेका छन् ।

कारोबारको सुरुवातमा सामान्य सुधार देखिए पनि दिनभर ‘बियरिस ट्रेन्ड’ कायम रहँदा नेप्से परिसूचक ४५ दशमलव ३६ अंकले घटेर २५५९ अंकमा कायम भयो ।

सूचकहरूमा तीव्र गिरावट

आज बजारका सबै सूचकहरू रातो देखिए । दिउँसो १ः४१ बजे नेप्से २५३५ अंकसम्म झरेको थियो । आज २३२ कम्पनीको मूल्य घट्दा जम्मा १८ कम्पनीको मात्र मूल्य बढ्यो । समूहगत रूपमा हेर्दा, फाइनान्स र होटल समूह सर्वाधिक प्रभावित भए, दुवै समूह ३/३ प्रतिशतले घटे।

बजारमा लगातार गिरावट आए पनि कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ४ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यसले बजारमा बिक्री चाप उच्च रहेको सङ्केत गर्छ। आज मूल्य बढ्नेमा आत्मनिर्भर लघुवित्त ६ प्रतिशत र थ्रीस्टार हाइड्रोपावर ४ दशमलव ७ प्रतिशत अगाडि रहे । यता, सर्वाधिक गुमाउने कम्पनीहरूमा प्रभु इन्स्योरेन्स ६ दशमलव १२, मञ्जुश्री फाइनान्स ५ दशमलव ९६, र फस्र्ट माइक्रोफाइनान्स ५ दशमलव ५३ प्रतिशत रहे।

आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट लगायत रहे। बजार घट्दा पनि उच्च कारोबार हुनुले लगानीकर्ताहरू भविष्यमा मूल्य बढ्ने आशामा सेयर उठाएको हुनसक्ने विश्लेषकहरूको मत छ।


सम्बन्धित समाचार
भर्खरै