२२असोज ,सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिका–११ रामनगर टोलमा जडान गरिएको १०० केभी क्षमताको विद्युत ट्रान्सफरमर गएराति चोरी भएको छ। कृषि प्रयोजनका लागि जडान गरिएको सो ट्रान्सफरमर चोरी भएपछि करिब २०० जना स्थानीय कृषक प्रभावित भएका छन्।
स्थानिय अर्जुन कुमार यादवका अनुसार करिब ४५ दिनअघि मात्रै जडान गरिएको सो ट्रान्सफरमरबाट सिंचाइ सुविधा लिने कृषकहरूले अहिले विद्युत अभावमा खेतमा काम गर्न पाएका छैनन्। “ट्रान्सफरमरकै भरमा धेरै किसान सिंचाइ गर्दै आएका थिए, अहिले सबै समस्यामा परेका छन्,” यादवले बताए।
इलाका प्रहरी कार्यालय सिम्रौनगढले घटनापछि चोरको खोजी कार्य सुरु गरिएको जानकारी दिएको छ। प्रहरीले चोरी कसरी भयो, कसले गरेको हो भन्नेबारे प्रारम्भिक अनुसन्धान अघि बढाएको बताएको छ।
ट्रान्सफरमर चोरीको यो घटना पछिल्लो समय ग्रामीण क्षेत्रमा बढ्दो विद्युत उपकरण चोरीका घटनामध्ये एक हो। स्थानीयवासीले विद्युत प्राधिकरण र सुरक्षासम्बन्धी निकायसँग सघन निगरानी र निगरानी प्रणाली सुधार्न माग गरेका छन्।















