Logo

२३ असोज, काठमाडौँ । धनुषामा एक किशोरीलाई बोलाएर बलात्कार तथा ब्ल्याकमेल गरेको गम्भीर आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-७, जिरोमाइलका २१ वर्षीय दीपक राउत छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक संजिव यादवका अनुसार राउतलाई गत मंगलबार पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ। पीडित १७ वर्षीया किशोरीलाई भने सुरक्षित आश्रय (सेफ हाउस) मा राखिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले दीपक राउतमाथि झापाको दमककी ती किशोरीलाई फकाइ जनकपुर बोलाएर एक होटेलमा राखी आफूसहित अन्य केटा लगाएर बलात्कार गराएको आरोप छ।

थप अनुसन्धानका क्रममा राउतको मोबाइलमा अन्य युवतीहरूसँगको कुराकानी, युवतीहरूको अश्लील भिडियो तथा लागूऔषधका तस्वीरहरू समेत फेला परेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिएका छन्।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको र आरोपित राउतमाथि कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै