२३ असोज, काठमाडौं । सेयर बजारले आज एक रोमाञ्चक सुरुवात गरेको छ । कारोबार सुरु भएको ३ मिनेट पनि नपुग्दै नेप्से परिसूचकमा ४ प्रतिशतको उछाल आएपछि पोजेटिभ सर्किट ब्रेक लागेको छ । बजारमा यति तीव्र गतिमा वृद्धि देखिएपछि कारोबार तत्कालका लागि २० मिनेटका लागि स्थगित गरिएको छ।
राष्ट्र बैंकको ‘बोनसः’ लगानीकर्ता उत्साहित
बजारमा आएको यो ऐतिहासिक वृद्धि खास कारणले भएको हो । अघिल्लो दिन मात्रै नेपाल राष्ट्र बैंकले सेयर कर्जामा रहेको २५ करोड रुपैयाँको सीमा हटाएको थियो । यसले बैंक तथा वित्तीय संस्थाहरूलाई सेयर कारोबारका लागि लगानी गर्न थप सहजीकरण भएको छ । केन्द्रीय बैंकको यो नीतिका कारण ठूला लगानीकर्ताहरूलाई बजारमा प्रवेश गर्न बाटो खुलेको र त्यसैको प्रत्यक्ष प्रभाव आजको कारोबारमा देखिएको जानकारहरू बताउँछन् ।
नियम खुकुलो भएसँगै लगानीकर्ताहरूमा ठूलो उत्साह देखिएको र यही कारणले ‘बुलिस’ दौड सुरु भएर सर्किट ब्रेक लागेको हो । अब २० मिनेटपछि बजार खुल्दा यो गति कायम रहन्छ वा रहँदैन, त्यो हेर्न बाँकी छ ।















