२४ असोज, वीरगञ्ज । अविरल वर्षाका कारण बाराको दुधौरा नदीमा आएको बाढीमा बेपत्ता भएका बाराका युवक बिकी गोसाईको शव फेला परेको छ।
प्रसौनी गाउँपालिका-२ निवासी शम्भु गोसाईका २१ वर्षीय छोरा बिकी गोसाईको शव आज बिहान फेला परेको हो।
गत शनिबार दुधौरा नदीमा आएको बाढीमा परेर उनी बेपत्ता भएका थिए। स्थानीय बासिन्दा र सुरक्षाकर्मीले निरन्तर खोजी जारी राखिरहेका बेला आज बिहान त्रिवेणी जाने बाटोमा रहेको बंगरी पुलनजिक उनको शव देखेपछि प्रहरीलाई जानकारी गराइएको हो।
प्रहरीका अनुसार घटनास्थलमा टोली पुगिसकेको छ र कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ।
स्थानीय प्रशासनले हाल पनि दुधौरा नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।















