Logo

२४ असोज,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले राष्ट्रिय परिचयपत्र विवरण संकलन सेवामा सुधार गर्दै अबदेखि शनिबारको सार्वजनिक बिदामा पनि सेवा दिने निर्णय गरेको छ। अत्यधिक सेवाग्राहीको चापलाई व्यवस्थापन गर्न कार्यालयले सेवा समय विस्तार गर्दै दैनिक बिहान ७:३० बजेदेखि अपरान्ह ५:०० बजेसम्म सेवा दिने भएको हो।

शुक्रबार जारी सूचनामा कार्यालयले भनेको छ, “नेपाल सरकारले सबै सार्वजनिक सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि सेवाग्राहीको चाप अत्यधिक रूपमा बढेको छ। त्यसलाई ध्यानमा राख्दै सेवा समय थप गरिएको हो।”

हाल कार्यालयले दैनिक ३५०–४०० जनासम्मको विवरण संकलन गरिरहेको छ। सेवाग्राहीको अत्यधिक भिडका कारण २०८२ कार्तिक २८ गतेसम्मका टोकनहरू पहिले नै जारी भइसकेका छन्।

यसअघि लागू गरिएको पालिका अनुसारको सेवा तालिका (जस्तै, वीरगञ्ज महानगरका लागि बिहीबार र शुक्रबार मात्र सेवा) खारेज गरिएको छ। अब टोकन प्रणालीलाई निरन्तरता दिइनेछ भने पहिले नै टोकन लिई पालो कुर्दै आएका सेवाग्राहीलाई तोकिएको मितिमै सेवा दिइनेछ।

सेवाप्रवाहलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागसँग थप डेस्क र कर्मचारीको माग गरेको छ। विभागले छिट्टै २–३ वटा अतिरिक्त डेस्क उपलब्ध गराउने आश्वासन दिएको छ। यसले सेवा क्षमता दैनिक ५०० जनासम्म पुर्‍याउने अपेक्षा गरिएको छ।

राष्ट्रिय परिचयपत्र नहुँदा अत्यावश्यक सेवा (राहदानी, बैंक खाता, सामाजिक सुरक्षा सुविधा आदि) पाउनबाट वञ्चित भएका नागरिकका लागि विशेष व्यवस्था गरिएको छ। उनीहरूले आवश्यक आधार र कागजातसहित निवेदन दिएमा प्राथमिकताका साथ सेवा उपलब्ध गराइने कार्यालयले स्पष्ट पारेको छ।


सम्बन्धित समाचार