२५ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा जेनजी युवासँग आयोजना गरेको छलफल कार्यक्रममा सहभागी हुन नपाएका केही युवाले तीव्र असन्तोष जनाएका छन्। शीतल निवास अगाडि भेला भएका उनीहरूले नाराबाजी गर्दै आफूहरूलाई पनि वार्तामा सहभागी गराउन माग गरेका छन्।
छलफलका लागि जेनजी युवाको सुदन गुरुङ नेतृत्वको टोली मात्र शीतल निवासभित्र प्रवेश गरेपछि बाँकी युवाहरूले विरोध जनाएका हुन्। नाराबाजी गर्दै शीतल निवास बाहिर विरोधमा उत्रिएका युवालाई प्रहरीले सम्झाउने प्रयास गरिरहेको छ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको उपस्थितिमा छलफलको आयोजना गरेका हुन्। बैठकमा सुरुवाती रूपमा १७ जना प्रतिनिधि सहभागी हुने भनिएपनि अन्ततः २० जनाभन्दा बढी जेनजी युवा भित्र पुगेको एक सहभागीले जनाएका छन्।
जेनजी युवाहरुले भ्रष्टाचार नियन्त्रण, सुशासनको स्थायित्व, र पारदर्शी शासन प्रणालीको माग राख्दै गत भदौ २३ र २४ गते देशभर आन्दोलन गरेका थिए। ती आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई राजीनामा दिन बाध्य बनाएको थियो।
जेनजीको सिफारिसमा बनेको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की अहिले मन्त्रिपरिषद् विस्तार र आगामी फागुन २१ मा हुने आम निर्वाचनको तयारीमा छिन्। यसै सन्दर्भमा जेनजी युवासँग छलफल गरिएको हो।
तर, जेनजीको आधिकारिक नेतृत्व को हो भन्ने विषयमा अझै अन्योल रहँदै आएको छ। यही अस्पष्टताका कारण केही समुह छलफलमा समावेश नभएर विवाद चर्किएको हो।
छलफल जारी रहेको र प्रतिनिधित्वका विषयमा चाँडै स्पष्टता ल्याइने स्रोतले जनाएको छ।















