२५ असोज, सुर्खेत। सुर्खेतको लेकबेशी नगरपालिका–९ चौरासे नजिकको जंगलमा बस्दै आएको राउटे बस्तीमा मध्यराति प्रवेश गरी दुव्र्यवहार गर्न खोज्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटना शुक्रवार राति १२ बजे भएको हो। लेकबेशी–५, नेटाका राजु रजाली नामका युवकले मदिरा सेवन गरेका अवस्थामा राउटे समुदायकी एक महिला बस्दै आएको छाप्रोमा जबरजस्ती प्रवेश गरी दुव्र्यवहार गर्न खोजेको आरोप लागेको छ।
राउटे समुदायसँग काम गर्दै आएकी कर्मचारी दुर्गा खत्रीका अनुसार, पीडित महिलाले आफूमाथि जबरजस्तीको प्रयास भएको बताएकी हुन्। राउटे युवाहरूले ती युवकलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए।
घटनाको जानकारी पाउनेबित्तिकै शनिवार बिहान जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट टोली बस्तीमा पुगेको थियो। प्रहरी निरीक्षक मोनजंग बुढथापाले युवकलाई नियन्त्रणमा लिएको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जानकारी दिए।
घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले समेत चासो देखाएका छन्। दुवै संस्थाका प्रतिनिधि टोलीले बस्तीमै पुगेर घटनाको स्थलगत अध्ययन गरिरहेको जनाइएको छ।
















