Logo

२७ असोज, काठमाडौँ । जेन–जी आन्दोलनपश्चात् नेपालको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस अहिले नेतृत्वविहीन जस्तै अवस्थाबाट गुज्रिरहेको छ। गत भदौ २३ र २४ गतेको आन्दोलनमा गम्भीर रूपमा घाइते भएपछि सभापति शेरबहादुर देउवा लामो उपचारपछि अहिले पनि पूर्ण रूपमा सक्रिय हुन नसकेका कारण पार्टीको शीर्ष तहको गतिविधि सुस्त बनेको छ।

पार्टीका अनुसार देउवा करिब एक महिनासम्म उपचारमा रहेका थिए। यस अवधिमा उनको अवस्थाबारे परिवारबाहेक अरूलाई जानकारी थिएन। पछिल्लो एक सातादेखि भने उनले केही वरिष्ठ नेतासँग निरन्तर भेटघाट र छलफल थालेका छन्। उनकै आह्वानमा मंगलबार केन्द्रीय कमिटी बैठक बोलाइएको छ, जहाँ स्वास्थ्यले साथ दिएसम्म देउवा स्वयं उपस्थित भएर सम्बोधन गर्ने तयारीमा छन्।

देउवाको सभापतित्वको कार्यकाल करिब दुई महिनामात्र बाँकी छ। विशेष परिस्थितिमा मात्रै एक वर्ष थप्न सकिने विधान व्यवस्था भए पनि देउवा स्वयं अब पदमा बसिरहन इच्छुक नरहेको निकट स्रोतले बताएको छ। उनी विगत वर्षदेखि नै राजनीतिबाट क्रमिक अवकाश लिने संकेत दिँदै आएका थिए।

कांग्रेस विधानअनुसार एक व्यक्ति दुई कार्यकालसम्म सभापति बन्न सक्छ। सोही आधारमा देउवा १३औं र १४औं महाधिवेशनबाट सभापति बनेका हुन्। अब कार्यकालको अन्त्यमा आइपुग्दा उनले पार्टीको नेतृत्व विश्वासिला उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको रूपमा सुम्पने मनस्थितिमा रहेको देउवा निकट नेताहरूले बताएका छन्।

उपसभापति पूर्णबहादुर खड्का २०५९ सालमा कांग्रेस विभाजन भएपछि देउवाको नजिक रहेका नेतामध्ये एक हुन्। जेन–जी आन्दोलनपछि देउवा अस्वस्थ रहँदा पार्टीका सबै प्रमुख बैठक खड्काले सञ्चालन गर्दै आएका छन्। २८ भदौ र ३ असोजमा बसेका कार्यसम्पादन समिति बैठक र पछिल्लो पदाधिकारी बैठकमा पनि खड्काले सभापतिको भूमिका निभाए।

पछिल्ला दिनमा उनले शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, प्रकाशशरण महत, विमलेन्द्र निधि, गगन थापा, विश्वप्रकाश शर्मा लगायत नेताहरूसँग निरन्तर छलफल गरिरहेका छन्। पार्टीमा महाधिवेशन वा विशेष महाधिवेशन गर्नेबारे चलिरहेको बहसमा खड्काले सबै पक्षसँग समन्वय गरिरहेको बताइन्छ।

जेन–जी आन्दोलनले पुराना दलको नेतृत्वमा नयाँ पुस्ताको मागलाई तीव्र बनाएको छ। कांग्रेसभित्र पनि यही दबाबबीच देउवाले महाधिवेशन अघि नेतृत्व हस्तान्तरण गर्ने वा आफैंको अध्यक्षतामा महाधिवेशन सम्पन्न गर्ने दुई विकल्पबीच निर्णय गर्नुपर्ने चुनौती खेपिरहेका छन्।

देउवा निकट एक नेताका अनुसार, सभापतिका लागि अहिलेको चुनौती भनेको “समयमै महाधिवेशन सम्पन्न गर्ने र सबैलाई पत्याउने साझा व्यक्तिलाई कार्यवाहक बनाउने” हो।

देउवाले कार्यवाहक तोक्ने अधिकार स्वतः सभापतिसँगै निहित भएकाले त्यसका लागि केन्द्रीय कमिटीको निर्णय आवश्यक पर्दैन। त्यसैले मंगलबार हुने बैठकमा नै उनले उक्त जिम्मेवारी तोक्ने सम्भावना उच्च देखिएको छ।

नेता कृष्णप्रसाद सिटौलाले पनि कार्यवाहक सभापति तोक्ने अधिकार सभापतिको अधिकारभित्र पर्ने भन्दै, “विश्वासिलो व्यक्तिलाई जिम्मेवारी दिनुपर्छ,” भनेका छन्। उनले विधानअनुसार उपसभापतिलाई कार्यवाहक तोक्न सकिने स्पष्ट संकेत दिएका छन्।

त्यस्तै, डा. शशांक कोइरालाले देउवालाई केन्द्रीय कमिटी विघटन गरेर विश्वासिला व्यक्तिलाई कार्यवाहक तोक्ने सुझाव दिएका छन्। उनका अनुसार, “विशेष महाधिवेशन आवश्यक छैन, कार्यवाहक सभापतिले नियमित महाधिवेशनको मिति तय गरे पुग्छ।”

केन्द्रीय सदस्य उदयशमशेर राणाले पनि देउवाले स्वास्थ्य र राजनीतिक परिस्थितिलाई मध्यनजर राख्दै कार्यवाहक तोक्ने तयारी गर्न सुझाव दिएका छन्। उनका शब्दमा, “नेतृत्व परिवर्तनको माग बढिरहेको छ, अहिलेको सर्वोत्तम विकल्प भनेको सभापतिज्यूले कार्यवाहक तोक्नु नै हो।”

पार्टी प्रवक्ता प्रकाशशरण महतले भने कांग्रेसमा महाधिवेशन नियत समयमै हुने र “नियमित प्रक्रियामार्फत अघि बढ्ने” बताएका छन्। उनका अनुसार, केन्द्रीय बैठकमा बदलिँदो राजनीतिक परिस्थिति, पार्टी एकता र सरकारप्रति दबाबका एजेन्डामा छलफल हुनेछ।

पार्टीका भित्रभित्रै नेतृत्व परिवर्तनको माग तीव्र बन्दै गएको भए पनि देउवा निकट समूहले महाधिवेशनसम्म निरन्तरता दिने पक्षमा रहेको बताइन्छ। तर, स्वास्थ्य अवस्था, उमेर, र जेन–जी आन्दोलनपछिको नयाँ राजनीतिक चेतनाले देउवाको राजनीतिक यात्राको निर्णायक चरण सुरु भएको विश्लेषण गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै