Logo

२७ असोज, काठमाडौँ । जेनजी आन्दोलनसँग सम्बन्धित प्रतिनिधिहरू र राष्ट्रपति रामचन्द्र पौडेलबीच हुने भनिएको छलफल अनिश्चित बनेको छ। शनिबारको प्रारम्भिक छलफलमा राष्ट्रपति पौडेल बिरामी भएपछि वार्ता प्रधानमन्त्री सुशीला कार्कीसँग मात्र भएको थियो। त्यसपछिको आजको वार्ता पनि जेनजी युवाबीच नेतृत्वको विषयमा सहमति नहुँदा स्थगित भएको हो।

जेनजी प्रतिनिधिहरूबीच विवादको मूल कारण को–नेतृत्व गर्ने पात्रको चयन रहेको देखिएको छ। शनिबार १७ जना सहभागी हुने भनिएको छलफलमा २० जना सहभागी भइसकेका थिए। केही युवाहरूले वार्तामा बसेका सबैलाई अमेरिकी युथ काउन्सिलसँग जोडिएको भन्दै आफूहरू मात्र असली जेनजी भएको दाबी गरेका थिए। यसले सरकार र राष्ट्रपति कार्यालयलाई थप हैरानीमा पारेको छ।

जेनजी प्रतिनिधि चयनका लागि तीनपटक सूची तयार गरिए पनि सबै पक्षको सहमति नहुँदा मन्त्री नियुक्ति प्रक्रिया प्रभावित भएको छ। हिजो मात्र केही मन्त्रीहरूको सूची सार्वजनिक भए पनि युवाहरूले विरोध जनाएका छन्। प्रमुख विरोधकर्ता मिराज ढुंगाना लगायतका प्रतिनिधिहरूले सूचीको निर्णय अस्वीकार गर्दै नयाँ विवाद सिर्जना गरेका छन्।

प्रधानमन्त्रीको टेबलमा दर्जनौँ नाम पुगेको भए पनि साझा व्यक्ति नपठाउँदा नियुक्ति प्रक्रिया स्थगित भएको छ। यसैबीच सहजीकरणका लागि राखिएको बैठक समेत बस्न नसकेको जानकारी सचिवालयले दिएको छ।

जेनजी प्रतिनिधि रक्षा बमले अहिलेसम्म छलफलका लागि कुनै जानकारी नआएको बताए। प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार, “जेनजीबीच नेतृत्व विवाद समाधान नहुँदा वार्ता आजका लागि स्थगित गरिएको हो। साझा सहमति कायम हुनासाथ नयाँ मिति तय गरिनेछ।”

विशेषज्ञहरूले जेनजी समूह भित्रको भिन्न–भिन्न एजेन्डा र व्यक्तिगत दाबीलाई वार्ता प्रक्रियामा मुख्य चुनौती भएको टिप्पणी गरेका छन्। यसले सरकारका निर्णयहरूमा ढिलाइ र प्रशासनिक अन्योल सिर्जना गरेको देखिएको छ।


सम्बन्धित समाचार
भर्खरै