२७ असोज, काठमाडौँ। पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध सरकारी वकिलले जिल्ला अदालत काठमाडौँमा अभियोगपत्र पेस गरेको छ ।
इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याएको सुन तस्करीको पूरक अभियोगमा महराविरुद्ध मुद्दा चलाउन लागिएको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरी शर्मा काफ्लेका अनुसार, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेपछि आज अदालतमा पेस गरिएको हो ।
यो पूरक अभियोग २०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले भेपमा लुकाएर ल्याएको सुन तस्करीमा केन्द्रित छ। सुनको अवैध पैठारी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महरालाई सुन तस्करीमा दोषी ठहर गरी पुनः मुद्दा चलाउन सिफारिस गरेको थियो ।
चिनियाँ सुन तस्कर दाओजिन वाङसँग महराको ‘कनेक्सन’ देखिएपछि आयोगले उनलाई सङ्गठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो। सीआईबीले महरालाई अदालतमा उपस्थित गराएको छ । अनुसन्धानमा संलग्न अधिकृतका अनुसार, महराले यसअघिको बयानमा चिनियाँ तस्कर वाङसँग चिनजान रहेको स्वीकारे पनि कारोबार गरेको भने अस्वीकार गरेका थिए ।
चिनियाँ नागरिक लि हासोङ्गले ल्याएको ७३० वटा भेप भन्सार कार्यालयले जफत गरेपछि महरा र उनका पुत्र राहुल महराले छुटाउन भूमिका खेलेको आरोप लागेको थियो । राहुल महरा यसअघि नै पक्राउ परिसकेका छन्।















