Logo

२७ असोज, काठमाडौं। काठमाडौंको बिजुलीबजार पुलमा पेस्तोल भिरेको भाइरल भिडियो जेनजी आन्दोलनको समयको नरहेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ ।

प्रहरीले टिओबी समूहका सदस्य ३० वर्षीय तेन्जेन दावालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनीबाट एक थान नक्कली पेस्तोल बरामद भएको हो ।प्रहरीको केन्द्रीय अनुसन्धानबाट कम्मरमा पेस्तोल बोकेको उक्त भिडियो करिब एक वर्ष पुरानो रहेको खुलेको छ । जेन–जी आन्दोलनमा टिओबी लेखिएको ज्याकेट लगाएका व्यक्ति पेस्तोल बोकेर पुगेको भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि अनुसन्धान सुरु गरिएको थियो ।

सामाजिक सञ्जालमा ध्यान खिच्न पेस्तोल प्रदर्शन

बरामद भएको नक्कली पेस्तोल नै भिडियोमा प्रयोग भएको तेन्जेनले स्वीकार गरेका छन् । उनले सामाजिक सञ्जालमा ध्यानाकर्षण गर्न नक्कली पेस्तोल देखाउँदै भिडियो बनाएको दाबी गरेका छन् । तेन्जेन एडी नामक टिकटक आईडीबाट सार्वजनिक गरिएको उक्त भिडियो साथीको आग्रहमा हटाइएको उनको भनाइ छ । प्रारम्भिक अनुसन्धानले तेन्जेनलाई फ्रि तिब्बत को एजेन्ट नभई समर्थक मात्र भएको देखाएको छ। उनका पूर्खा तिब्बतबाटै नेपाल आएको र उनले लगाएको ‘तिब्बतीयन ओरिजिनल ब्लड’ लेखिएको ज्याकेट तिब्बती मूलका व्यक्तिहरूसँगको सम्बन्धबाट प्रभावित भएको पाइएको छ।

आन्दोलनमा बाइक पड्काएर भाइरल बन्ने मनसाय

ट्याटु आर्टिस्टको काम गर्ने तेन्जेन बाइक राइडरहरूको समूहमा आबद्ध छन्। उनले जेनजी आन्दोलनमा सहभागी हुनुको कारण अघिपछि बाइक पड्काउन नपाए पनि आन्दोलनमा अरूभन्दा फरक देखिएर भाइरल बन्ने मनसाय रहेको प्रहरीसमक्ष बताएका छन्। उनको समूहले प्रायः साइलेन्सर पड्किने बुलेट बाइक प्रयोग गर्ने गरेको खुल्सा भएको छ ।

प्रहरीले अहिलेसम्म तेन्जेनको मोबाइलबाट कुनै अवाञ्छित गतिविधिको संकेत फेला पारेको छैन । उनमाथि आगजनी, तोडफोड वा लुटपाटको घटनामा संलग्नता नदेखिएपछि प्रहरीले नक्कली पेस्तोल देखाएर समाजमा आतंक सिर्जना गरेको कसुरमा उनीमाथि अभद्र व्यवहारको कसुरमा म्याद लिएर थप अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।

 


सम्बन्धित समाचार