३० असोज,वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेशको नयाँ नेतृत्व चयनका लागि जारी अधिवेशनमा गम्भीर विवाद देखिएको छ। अध्यक्ष पदका उम्मेदवार योगेन्द्र यादवले विधानविपरीत प्रक्रिया अपनाइएको भन्दै अधिवेशन नै बहिष्कार गरेका छन्।
यादवले बुधबार अधिवेशन प्रक्रिया औपचारिकता मात्र भएको आरोप लगाउँदै निर्वाचनमा भाग नलिने घोषणा गरेका हुन्। उनका अनुसार अधिवेशन पार्टीको विधान विपरीत रूपमा संचालित भएको छ भने अर्का अध्यक्ष पदका उम्मेदवार बालकिशोर यादवले “आफुखुशी” प्रतिनिधिहरू छनोट गरेर निर्वाचन प्रक्रियालाई प्रभावित बनाएका छन्।
“हामीले अधिवेशन बहिष्कार गरेका छौं, किनभने यो निष्पक्ष र लोकतान्त्रिक ढंगबाट अगाडि बढाइएको छैन। प्रतिनिधि छनोटदेखि चुनावी प्रक्रिया नै एकतर्फी रूपमा गरिएको छ,” यादवले भने।
योगेन्द्र यादवको प्यानलका अन्य उम्मेदवारहरूले पनि अधिवेशन बहिष्कार गरेका छन्। उनीहरूलाई मधेशका पूर्व मुख्यमन्त्री सरोजकुमार यादव, प्रदेशसभा सदस्य अनिरुद्धप्रसाद सिंह, पूर्व प्रदेश अध्यक्ष रामबाबु यादव र केही जिल्ला अध्यक्षहरूको समेत समर्थन प्राप्त भएको छ।
यस घटनाले जसपाको आन्तरिक कलह पुनः सतहमा ल्याएको छ। अधिवेशन भित्रको विवादले पार्टीको मधेश प्रदेश नेतृत्वको वैधता र एकताको सवालमा थप प्रश्नहरू उठाएको छ।
पार्टी नेतृत्वले भने औपचारिक रूपमा यस विषयमा प्रतिक्रिया दिएको छैन। अधिवेशन तोकिएको मितिअनुसार अघि बढाइने बताइएको छ।

















