३० असोज,वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशसभा सदस्य सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ।
सिंह महोत्तरी क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। उनीसहित रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपुत, भिखारी राउत कुर्मी, भुपेन्द्र कुमार झा, मन्जु देवी पासवान, रामनाथ सहनी, स्वीकृती देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मण्डल, योगेन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको अभियोगसहित मुद्दा दायर गरिएको हो।
अख्तियारका अनुसार सिंहले विद्यालय र मन्दिरसँग सम्बन्धित विभिन्न उपभोक्ता समितिहरूको खातामा जम्मा भएको कुल रु. १ करोड ३६ लाख २७ हजार ४८१ मध्ये झन्डै २८.२५ प्रतिशत बराबरको रकम (रु. ३८ लाख ५० हजार ३१९) घुसस्वरूप लिएर आफ्नो र श्रीमतीको संयुक्त बैंक खातामा राखेका थिए।
त्यसका साथै सो रकमको केही हिस्सा सिंहले आफ्ना स्वकीय सचिव विनोद कुमार लाल कायस्थको खातामा समेत जम्मा गराएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।
आयोगले सबै आरोपीहरूलाई भ्रष्टाचार निवारण ऐन अन्तर्गत कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

















