३० असोज, काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आम नागरिक र दलहरूलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन अन्तरिम सरकारसँग कडा माग गरेको छ ।
निर्वाचन आयोगले बिहीबार आयोजना गरेको सर्वदलीय छलफलमा कांग्रेसले सुरक्षा अवस्था नाजुक रहेको भन्दै आफ्नो गहिरो चिन्ता व्यक्त गरेको छ।
‘शान्ति सुरक्षामा दलहरू विश्वस्त छैनन्’
कांग्रेसका तर्फबाट बैठकमा सहभागी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सरकारले निर्वाचनको वातावरण निर्माण गर्न नसकेको स्पष्ट पारे। उनले अहिलेको अवस्थामा दलहरू शान्ति सुरक्षामा विश्वस्त नभएको बताएका छन् । ‘निर्वाचनका लागि आवश्यक पर्ने पहिलो सर्त शान्ति सुरक्षाको प्रत्याभूति नागरिक र राजनीतिक दलहरूलाई सरकारले दिलाउन सक्नुपर्छ। अहिलेसम्म त्यो हुन सकेको छैन।’
सुरक्षाकर्मीको मनोबल र सरकारी प्रतिशोध
त्रसित बनेका सुरक्षाकर्मीहरूको मनोबल उच्च बनाउनुपर्ने, सुरक्षाकर्मीका लुटिएका हतियार र बर्दी फिर्ता हुनुपर्ने र भागेका अपराधीहरूलाई तत्काल पक्रिनुपर्ने, सुशीला कार्की नेतृत्वको सरकारले दलहरूमाथि गरिरहेको प्रतिशोधपूर्ण व्यवहार बन्द गर्नुपर्ने र सहकार्यको वातावरण बनाउनुपर्ने माग राखिएको छ ।
कांग्रेसले सरकारका मन्त्रीहरूले निर्वाचनको वातावरण बनाउने भन्दा विपरीत अभिव्यक्ति दिएको भन्दै त्यसमा लगाम लगाउन माग गरेको छ। कांग्रेसले निर्वाचन सम्पन्न गर्नका लागि सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय र राजनीतिक दलहरू सबै एकै ठाउँमा बसेर सहकार्यको वातावरण निर्माण गर्न पनि आग्रह गरेको छ।















