Logo

३१ असोज, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो फागुन २१ गते हुने निर्वाचनमा भ्रष्ट र अनैतिक पात्रहरूलाई जित्न नदिन युवापुस्तालाई आग्रह गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित अन्तरिम सरकार र जेनजी (Gen Z) अभियन्तासँगको छलफलका क्रममा राष्ट्रपति पौडेलले आगामी निर्वाचनलाई देशको रूपान्तरणको अवसरका रूपमा लिन युवाहरूसमक्ष अपिल गरेका हुन् ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उनले युवापुस्ताले चलाएको आन्दोलनले देशमा सुशासन, पारदर्शिता र जवाबदेहिताको माग गरेको भन्दै यसै आन्दोलनको भावना अनुरूप नयाँ निर्वाचन घोषणा गरिएको उल्लेख गरे ।

“यो चुनावलाई राष्ट्रको काँचुली फेर्ने महाभियानका रूपमा लैजानुपर्छ,” राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै पोखरेलले भने, “तपाईंहरू युवाहरू अघि सरी असल प्रतिनिधिहरू रोज्नुस् — भ्रष्ट र बदमासले जित्न नपाऊन्, इमानदार र देशप्रेमीहरूले जितेर आउन्।”

राष्ट्रपतिले युवाहरूले उठाएको आन्दोलनले देशलाई न्याय, सुशासन र उत्तरदायित्वतर्फ उन्मुख बनाउने संकेत गरेको बताउँदै विदेश पलायनका कारण युवाशक्ति खेर जाँदै गएको अवस्थाप्रति चिन्ता व्यक्त गरे ।

“युवाहरू बाध्यताले विदेश जानुपर्ने अवस्था अन्त्य हुनुपर्छ,” उनले जोड दिए ।

राष्ट्रपतिले युवाहरूको आन्दोलनप्रति सम्मान जनाउँदै आफूले सोही भावना अनुरूप अन्तरिम सरकार गठनमा राष्ट्रिय एकताको प्रवर्धन गर्ने संवैधानिक अधिकार प्रयोग गरेको खुलासा गरे। उनले आन्दोलनलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्न खोज्नेहरूबाट सचेत रहन पनि आग्रह गरे ।

छलफलका क्रममा जेनजी अभियन्ताहरूले आफ्ना आन्दोलन सामाजिक–आर्थिक न्यायका लागि रहेको स्पष्ट पारे। उनीहरूले सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त शासन प्रणालीका लागि आफूहरू प्रतिबद्ध रहेको र निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुपर्नेमा जोड दिएका थिए ।

बैठकमा अन्तरिम सरकारकी प्रधानमन्त्री अञ्जना कार्की, मन्त्रीहरू र राष्ट्रपति सचिवालयका वरिष्ठ अधिकारीहरू उपस्थित थिए ।

जेनजी तर्फबाट मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उपार्जुन चाम्लिङ, निकुञ्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजवीरराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुञ्जन शाह ठकुरी र धीरज जोशी सहभागी थिए ।


सम्बन्धित समाचार