१ कात्तिक, वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री जीतेन्द्रप्रसाद सोनलले प्रदेशभर शान्ति, सुव्यवस्था र सुशासन कायम गर्दै आमनागरिकमा सुरक्षाको अनुभूति हुने वातावरण बनाउन सरोकार भएका निकायलाई कडाइका साथ निर्देशन दिएका छन् ।
शनिबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित सुरक्षा निकायका प्रमुख, प्रदेश सरकारका प्रमुख सचिव, मन्त्रालयका सचिवहरू तथा सरोकार भएका अधिकारीहरूसँगको संयुक्त बैठकमा मुख्यमन्त्री सोनलले जनताको विश्वास जित्ने गरी पारदर्शी, सरल र छिटोछरितो सेवा प्रवाह गर्न आग्रह गरे ।
उनले पछिल्ला दिनमा नयाँ पुस्ता (जेन–जी) बाट भइरहेका आन्दोलन र अभिव्यक्तिहरूले सुशासन, जवाफदेही र पारदर्शिताप्रति जनचासो बढाएको बताउँदै, “सरकारले ती मागहरूको मर्म बुझ्नुपर्छ र जनताको अपेक्षा अनुसार शीघ्र र प्रभावकारी रूपमा काम गर्नुपर्छ,” भन्ने निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री सोनलले प्रदेशका सुरक्षा निकायहरूबीच समन्वय र सहकार्य अभिवृद्धि गर्नुपर्नेमा जोड दिंदै भने, “सुरक्षाको अनुभूति आमजनताले आफ्नो गाउँ–टोलमै गर्नुपर्छ, त्यसका लागि प्रशासनिक संयन्त्र चुस्त र उत्तरदायी हुनुपर्छ।”
बैठकमा उनले प्रदेश सरकारका सबै मन्त्रालय, कार्यालय र निकायहरूलाई सुशासन अभिवृद्धि, सेवा प्रवाहमा पारदर्शिता, भ्रष्टाचार न्यूनीकरण र जनताको समस्या समाधानमा प्राथमिकता दिन निर्देशन दिएका थिए ।
बैठकमा बिनाविभागीय मन्त्री महेशप्रसाद यादव र कनिश पटेलको पनि उपस्थिति रहेको थियो । सो अवसरमा मुख्यमन्त्री सोनलले प्रदेश सुरक्षा संयन्त्र अन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूसँग प्रदेशको समग्र सुरक्षा अवस्था र आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरेका थिए ।
प्रदेश सरकारका प्रमुख सचिव, विभिन्न मन्त्रालयका सचिव र सरोकार भएका अधिकारीहरूले बैठकमा आ–आफ्ना क्षेत्रका चुनौती र योजनाबारे जानकारी गराएका थिए ।
मुख्यमन्त्री सोनलले बैठकको अन्त्यमा प्रदेश सरकारले सुशासन र सुरक्षालाई शीर्ष प्राथमिकतामा राखेको पुनः दोहोर्याउँदै भने, “जनताको सुरक्षाभावना नै सरकारको सफलताको मूल मापदण्ड हो, त्यसमा कुनै पनि ढिलासुस्ती स्वीकार्य हुने छैन।”















