१ कात्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई भाइटीकाको दिन बाहेक तिहारका अन्य दिनहरूमा पनि बैंकिङ सेवा सञ्चालनमा राख्न आग्रह गरेको छ । केन्द्रीय बैंकले व्यापारिक गतिविधि, भन्सार जाँचपास र आपूर्ति प्रणालीलाई निरन्तरता दिनका लागि यो व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई पत्राचार गर्दै तिहारको अवधीमा समेत आवश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको हो । केन्द्रीय बैंकका अनुसार देशभरका नाकाहरूमा भन्सार जाँचपास र आयात–निर्यातसम्बन्धी कारोबार प्रभावित हुन नदिन न्यूनतम सेवा उपलब्ध गराउन आग्रह गरिएको हो ।
राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ, “व्यापार सहजीकरणका लागि, आपूर्ति प्रणालीलाई नियमित राख्न र सरकारी राजस्व संकलनमा बाधा नपर्नका लागि बैंकिङ प्रणालीलाई सञ्चालनमा राख्न आवश्यक व्यवस्था मिलाइदिनु हुन अनुरोध छ।”
यससँगै, राष्ट्र बैंकले शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट (RTGS)’ प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालनमा रहने जानकारी पनि सार्वजनिक गरेको छ ।
आरटीजीएस प्रणाली सञ्चालनमा रहँदा अन्तरबैंकीय कारोबार, ठूलो परिमाणका भुक्तानी, सरकारी कोष सञ्चालन लगायतका वित्तीय कारोबारहरू नियमित रूपमा सम्पन्न गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकका अनुसार, भाइटीका अर्थात् तिहारको अन्तिम दिन मात्र बैंकिङ कारोबार पूर्ण रूपमा बन्द रहनेछ भने त्यस बाहेकका दिनहरूमा आवश्यक सेवा सञ्चालन गरेर आर्थिक क्रियाकलापलाई सहज बनाइनेछ ।















