Logo

२ कार्तिक, वीरगञ्ज । ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले प्रहरी प्रशासन र समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै शनिबार एक विशेष ‘बिदाई तथा फेरि भेटौंला’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईं, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्ट, र वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्याम बस्नेतलाई सम्मानपूर्वक बिदाई गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले गरेका थिए । कार्यक्रममा समाजसेवी, सामाजिक अगुवा, सञ्चारकर्मी, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, आजीवन सदस्य तथा स्थानीय बासिन्दाहरूको उपस्थिति थियो ।

कार्यक्रमका वक्ताहरूले बिदाइ भएका प्रहरी निरीक्षकहरूको इमानदारिता, कार्यकुशलता र जनताप्रतिको आत्मीय व्यवहारको उच्च प्रशंसा गरे । वक्ताहरूका अनुसार, उनीहरूले आफ्नो कार्यकालमा समुदायसँग नजिक रहेर जनगुनासो समाधानमा अग्रणी भूमिका खेले र प्रहरी–नागरिक सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरे ।

विशेष गरी प्रहरी निरीक्षक निरोज चौलागाईंको कार्यकाल स्मरणीय रहेको भन्दै वक्ताहरूले उनले सामुदायिक प्रहरी अवधारणालाई व्यवहारमा उतार्दै स्थानीय समुदाय र सुरक्षाप्रशासनबीचको विश्वास र समन्वयलाई बलियो बनाउन उल्लेखनीय योगदान पुर्‍याएको बताए ।

कार्यक्रममा प्रहरी निरीक्षक चौलागाईंलाई खादा, टीका र मायाको चिनो प्रदान गरी सम्मानपूर्वक बिदाई गरिएको थियो । हालै उहाँको काठमाडौं अपराध महाशाखामा सरुवा भएको अवसरमा उपस्थित सबैले उहाँको भावी कार्य सफल, प्रगतिशील र उदाहरणीय रहोस् भन्ने शुभकामना व्यक्त गरे ।

अध्यक्ष जयप्रकाश खेतानले बिदाई मन्तव्यका क्रममा भने, “निरोज सरले जनताको समस्या आफ्नै समस्या ठानेर काम गर्नुभयो। उहाँको नेतृत्वमा समुदाय र प्रहरीबीचको सम्बन्ध अझ प्रगाढ बनेको छ।”

बिदाइ भएका प्रहरी निरीक्षक निरोज चौलागाईं, लोकराज भट्ट र श्याम बस्नेतले समुदायबाट प्राप्त स्नेह, विश्वास र सम्मानप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै भने, “समुदायको साथ र विश्वासले हामीलाई प्रेरित गरेको छ। हामी जहाँ भए पनि समाज र देशको हितका लागि समर्पित रहन्छौं।”

कार्यक्रमको अन्त्यमा सांस्कृतिक प्रस्तुति र सामूहिक फोटोसेसन गरिएको थियो । सौहार्द, कृतज्ञता र आत्मीयताले भरिएको यो बिदाई कार्यक्रम सामुदायिक प्रहरी अवधारणालाई अझ जीवन्त बनाउने प्रेरणाको रूपमा लिइएको छ ।


सम्बन्धित समाचार