५ कार्तिक, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच मङ्गलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न पाँच घण्टे छलफल शान्ति-सुरक्षा र आगामी प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित रह्यो ।
फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको तयारी, भयरहित वातावरण, शान्ति–सुरक्षाको प्रत्याभूति र दलहरूबीच विश्वास निर्माणका विषयमा छलफल केन्द्रित भएको सहभागी नेताहरूले बताएका छन् ।
छलफलमा सहभागी दलका नेताहरूले वर्तमान अवस्थामा स्वतन्त्र र निष्पक्ष निर्वाचन हुन नसक्ने बताउँदै शान्ति–सुरक्षाको प्रत्याभूति नहुँदासम्म निर्वाचनको वातावरण नबन्ने धारणा राखे। उनीहरूले सरकारलाई सुरक्षाको अवस्था सुदृढ पार्न र नागरिकमा विश्वास जगाउने वातावरण बनाउन आग्रह गरे।
नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले छलफलमा सहभागी सबै दलका नेताहरूले सुरक्षा निकायको मनोबल खस्किएको र शान्ति-सुरक्षाको प्रत्याभूति कमजोर रहेको भन्दै सरकारलाई तत्काल सशक्त कदम चाल्न सुझाव दिएको जानकारी दिए ।
“गृहमन्त्रीले पनि छलफलमा बोले तर सुरक्षाको प्रत्याभूति दिलाउन सक्ने आत्मविश्वास देखाउन सक्नुभएन,” महतले भने । “बरु कठिनाइका कुरा गर्नुभयो।”
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र गुरुङले वर्तमान परिस्थितिमा संविधान र व्यवस्थाको भन्दा देश जोगाउने विषय प्राथमिक हुनुपर्ने धारणा राखे । “चुनाव देशको निकासका रूपमा हुनुपर्छ, केवल औपचारिक निर्वाचनका लागि होइन,” उनले भने ।
नेकपा (एमाले)का नेताहरूले “यस्तो अवस्थामा निर्वाचन सम्भव छ र?” भन्दै सरकारसँग जवाफ मागे ।
प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने सरकारको अटल प्रतिबद्धता दोहोर्याइन्। चुनाव सफल बनाउन सबैको साझा भूमिका आवश्यक छ,” उनले भनिन्, “सरकार अहोरात्र खटिएको छ-मन्त्रीहरूदेखि सुरक्षा निकायसम्म। घाइतेहरूको उपचार, सहिद परिवारका लागि राहत र आन्दोलनकारी पक्षसँग संवाद सबै कार्यलाई सरकार गम्भीरतापूर्वक अघि बढाउँदैछ।”
प्रधानमन्त्री कार्कीले प्रारम्भिक चरणमा जेनजी युवाहरू दलहरूसँग संवाद गर्न इच्छुक नभएको स्मरण गर्दै राष्ट्रपतिबाट संवादको ढोका खुलेको बताइन्। “अब सबै पक्षले मिलेर स्थिति सामान्य बनाउँदै चुनावतिर जाऔँ,” उनको भनाइ थियो ।
छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीका साथै अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी थिए ।
त्यसैगरी दलका तर्फबाट नेपाली कांग्रेसबाट गगनकुमार थापा र प्रकाशशरण महत, नेकपा (एमाले)बाट शङ्कर पोखरेल र प्रदीपकुमार ज्ञवाली, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला सहभागी थिए ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार खनालका अनुसार छलफलमा सबै दलले खुलेर आफ्ना चासो र सुझाव राखेका थिए । “मुख्यतः शान्ति–सुरक्षासम्बन्धी विषयमा घनीभूत छलफल भयो,” उनले भने । “प्रधानमन्त्रीज्यूले निर्वाचन सरकारको प्रमुख लक्ष्य भएको र दलहरूको सहकार्यबिना त्यो सम्भव नहुने बताउनुभयो।”
सञ्चारमन्त्री र सरकारका प्रवक्ता जगदीश खरेलले छलफललाई सकारात्मक ठहर गर्दै सबै दल निर्वाचनमा सहभागी हुने सहमति प्रकट भएको जानकारी दिए । “शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउने र आवश्यक वातावरण बनाउन सरकार प्रतिबद्ध छ,” उनले भने, “जेनजी, दलहरू र नागरिक सबैको सहयोगमा निर्वाचन सफल हुने विश्वास सरकारलाई छ।”
नेकपा (माओवादी केन्द्र)ले आगामी निर्वाचनका लागि भयरहित वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ। पार्टीका सचिवालय सदस्य वर्षमान पुनका अनुसार, निर्वाचनको तयारी पर्याप्त नभएकाले सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिइएको छ।
पार्टीले निर्वाचनमा भाग लिने निर्णय गरिसकेको र मतदाता नामावली अद्यावधिकका निर्देशन जारी गरिसकेको जानकारी पनि दिएको छ।
माओवादी केन्द्रका नेतृ पम्फा भुसाल र पुन बैठकमा सहभागी रहेका थिए। उनीहरूले निष्पक्ष, धाँधलीरहित र स्वच्छ निर्वाचनका लागि सरकार सक्रिय हुनुपर्ने धारणा राखे।
प्रधानमन्त्रीको आह्वान
छलफलपछि प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत देशभरका दल, नागरिक र राज्यका अङ्गहरूलाई जिम्मेवारीपूर्वक आगामी निर्वाचनमा जुट्न आह्वान गरिन्।
उनले लेखिन्, “निर्वाचनको आवश्यकतामा कसैको विमति छैन। सबै पक्षका चासो सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सरकार कटिबद्ध छ। आ–आफ्नो ठाउँबाट जुटौँ।”
प्रधानमन्त्रीले संवादलाई दलहरूबीच विश्वास र सहकार्यको वातावरण निर्माण गर्ने पहिलो महत्वपूर्ण कदमका रूपमा लिएकी छन् ।
उनले भनेकी छन्, “हाम्रो आमन्त्रण स्वीकार गरी उपस्थित सबै नेतागण तथा कार्यक्रम जनतासम्म पुर्याउन सहयोग गर्ने सञ्चारकर्मी मित्रहरूलाई हार्दिक धन्यवाद।”















