५ कात्र्तिक, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४, पश्चिम लच्का नजिकै बुधबार बिहान यात्रुले भरिएको एउटा बसमा एक्कासी आगलागी भएको छ ।
काठमाडौंबाट तिहार मनाउन घर फर्किरहेका यात्रु बोकेको बस पूर्ण रूपमा जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीका अनुसार, बागमती प्रदेश २-०३-००१ ख ५५५५ नम्बरको उक्त बसमा बिहान सवा ७ बजेतिर ब्याट्रीको तार सर्ट भएर आगलागी सुरु भएको थियो ।
बसमा आगो लाग्न थालेको थाहा पाएपछि यात्रुहरू तत्कालै सुरक्षित रूपमा बाहिर निस्किएकाले कुनै मानवीय क्षति हुन पाएन । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेश कुमार झाको कमाण्डमा खटिएको प्रहरी टोलीले स्थानीयवासी र बारुण यन्त्रको सहयोगमा करिब एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएको थियो । यद्यपि, आगो नियन्त्रणमा आउँदासम्म बस पूर्ण रूपमा जलिसकेको थियो ।
बसमा भएको आगलागीका कारण पूर्वपश्चिम राजमार्गमा केही समय सवारी आवागमन अवरुद्ध भएको थियो, जसले गर्दा यात्रुहरूलाई थप सास्ती भएको थियो ।

















