७ कार्तिक, काठमाडौं । तिहार औपचारिक रूपमा बिहीबार सम्पन्न भए पनि सरकारले शुक्रबार पनि सार्वजनिक बिदा दिएको छ । यससँगै यो वर्ष तिहारको सरकारी बिदा पाँच दिनसम्म पुगेको छ ।
गृह मन्त्रालयले जारी गरेको वार्षिक बिदा विवरण (राजपत्र) अनुसार यस वर्ष कात्तिक ३ गतेदेखि ७ गते शुक्रबारसम्म तिहारको बिदा उल्लेख गरिएको छ । तिथि घटबढका कारण यो वर्ष लक्ष्मीपूजा र भाइटीका बीच एक दिन फरक परेकाले मध्यवर्ती दिन पनि बिदा थपिएको हो ।
यस कारण तिहारको बिदा सामान्यभन्दा लामो बनेको छ। सरकारी कार्यालयहरू सोमबारदेखि बन्द रहेका र आइतबारमात्र खुल्ने भएका छन् । तर आइतबार खुले पनि सोमबार मिथिलाञ्चलको प्रमुख पर्व छठ परेको हुँदा त्यो दिन पनि सार्वजनिक बिदा रहनेछ ।
यसरी लगातार लामो बिदाले सरकारी सेवा प्रभावित हुने र सेवाग्राहीले कठिनाइ भोग्नुपर्ने अवस्था बनेको छ। सरकारी कार्यालयमा कागजी प्रक्रिया, नागरिकता, राहदानी, राजस्व, बैंकिङ स्वीकृति लगायतका काम रोकिने भएकाले सेवाग्राहीले असुविधा हुने देखिन्छ।
प्रशासनिक दक्षता र सेवा प्रवाहमा असर पर्ने भन्दै लामो बिदाको विरोध गर्ने क्रम पछिल्ला वर्षहरूमा दोहोरिँदै आएको छ। तर सरकारले तिथिगत तालिकाअनुसार बिदा समायोजन नगरी परम्परागत ढंगमै निरन्तरता दिँदै आएको छ।
केही वर्षअघि भाइटीकाको तिथिमा मतभेद हुँदा सरकारले पछिल्लो दिन समेत बिदा दिने चलन सुरु गरेको थियो। तर पछिल्ला वर्षमा यस्तो परिस्थिती नपरे पनि त्यो परम्परा रोकिएको छैन।
यस वर्ष पनि तिहारको मुख्य विधिहरू-काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा, गोरू तिहार र भाइटीका—क्रमशः सम्पन्न भइसकेका छन्। तर सरकारले दिइरहेको थप बिदाका कारण सरकारी निकायहरू करिब एक साता निष्क्रिय रहने भएका छन् ।

















