८ कार्तिक, वीरगञ्ज । तराई-मधेसका गाउँदेखि सहरसम्म अहिले सूर्य उपासनाको महापर्व छठको उल्लास र रौनक छाएको छ । चार दिनसम्म मनाइने यो पर्वको विधिवत् प्रारम्भ आज कार्तिक शुक्ल चौथी तिथिदेखि ‘नहाय-खाय’ विधिबाट हुँदैछ।
यस पर्वको पहिलो दिन अर्थात् आज व्रतालुहरूले पवित्र स्नान गरी शुद्ध-पवित्र भोजन ग्रहण गर्दै व्रत सङ्कल्प लिन्छन्। यस विधिलाई ‘नहाय–खाय’ भनिन्छ। यससँगै तराई–मधेसका धार्मिक महत्त्वका तलाउ, पोखरी र नदीघाटहरू बेहुलीझैँ सिँगारिएका छन्। छठका गीत र भजनले बस्ती–बस्ती गुन्जिएका छन् भने घर-घरमा पूजा सामग्रीको तयारी र व्यवस्थापनमा व्यस्तता बढेको छ।
परम्पराअनुसार कार्तिक शुक्ल तृतीयाकै दिनदेखि बर्तालुहरूले माछामासु, लसुन, प्याजजस्ता तामसी तथा राजसी भोजन त्याग गरी ‘अरबा-अरबाइन’ विधिबाट पर्व सुरु गर्छन्। छठ पर्वमा महिलाले मुख्य रूपमा व्रत सङ्कल्प गर्ने चलन छ, यद्यपि पुरुष व्रतालुहरूको पनि संख्या वर्षेनि बढ्दै गएको छ।
छठ पर्वमा श्रद्धा, निष्ठा र आत्मिक शुद्धतालाई अत्यन्त महत्त्व दिइन्छ । पूजा तथा प्रसाद सामग्रीमा ठकुवा (गहुँको पिठो, सख्खर र घिउबाट बनाइने परिकार), भुसुवा (कसार) र अन्य मिष्टान्न परिकार ढिकी वा जाँतोमा कुटिएको अन्नबाट बनाइने परम्परा रहिआएको छ । यी परिकार पकाउने चुलो पनि नयाँ बनाइन्छ।
सूर्य आराधनाका लागि आवश्यक वस्तुहरू ‘उखु, बेसार, अदुवा, ज्यामिरो, बिमिरो र अन्य कृषि उपज’ पर्व नजिकिँदै गर्दा बजारमा व्यापक मागमा छन्।
भोलि अर्थात् कार्तिक शुक्ल पञ्चमीका दिन ‘खरना’ विधि गरिनेछ । यसदिन व्रतालुहरूले दिनभर निराहार बसेर राति गुड (भेलि) र दूधमा पकाइएको खीर छठी देवीलाई अर्पण गरी प्रसादस्वरूप ग्रहण गर्छन् । त्यसपछि षष्ठीका दिन साँझ जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ। यस विधिलाई ‘साँझिया घाट’ भनिन्छ।
भोलिपल्ट सप्तमी तिथिको बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पर्व सम्पन्न गरिन्छ, जसलाई ‘भोरे घाट’ वा ‘पारण’ भनिन्छ । यस क्रममा व्रतालुहरू पानीमा उभिएर सूर्यलाई अर्घ्य देखाउँदै गीत र भजन गाउने गर्छन्।
अधिकांश घाटमा रातभरि जाग्राम, भजन-कीर्तन, नाटक र सांस्कृतिक कार्यक्रमको आयोजना गरिन्छ । यसपालि छठ व्रत सोमबार साँझ (सँझिया घाट) र मंगलबार बिहान (भोरेघाट) सम्पन्न गरिनेछ ।
एक समय तराई-मधेसमा सीमित रहँदै आएको यो पर्व अहिले देशव्यापी बनेको छ। सांस्कृतिक एकता र सह-अस्तित्वको प्रतीकका रूपमा छठ पर्व अब पहाडदेखि मधेससम्म साझा पर्वका रूपमा मनाइँदै आएको छ।
छठले सूर्य देवता र षष्ठी देवीप्रतिको आस्था मात्र होइन, परिवार, समुदाय र प्रकृतिप्रतिको समर्पणको सन्देश पनि फैलाउने गर्छ। त्यसैले आज तराई-मधेसका बजारदेखि घाटसम्म श्रद्धा, भक्ति र उत्साहको आलोकले उज्यालो बनेको छ ।
















