१४ कार्तिक, वीरगञ्ज। जिल्ला प्रहरी कार्यालय पर्साले शर्तसहित साधारण तारेखमा छोडेको आपराधिक लाभ (ठगी) सम्बन्धी मुद्दाका आरोपी तोकिएको मितिमा प्रहरी कार्यालयमा हाजिर नभएको प्रहरीले जनाएको छ। सर्लाहीको बलरा नगरपालिका घर भई वीरगञ्जमा बस्दै आएका संजय कुमार ठाकुर तोकिएको तारेखमा प्रहरी कार्यालयमा उपस्थित नभएका हुन्।
वीरगञ्ज महानगरपालिकाका कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा नगर प्रहरीले नियन्त्रणमा लिएर कारबाहीका लागि जिम्मा लगाएका ठाकुरलाई जग्गा कारोबारका लागि वारेसनामासहितको अधिकार प्रत्यायोजन दिने व्यक्तिलाई प्रहरीमा उपस्थित गराउने शर्तमा तारेखमा छोडिएको थियो।
प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले ठाकुरलाई स्काईलाइन महलमा किचलो मुद्दा खडा गर्ने वीरगञ्ज, छपकैयाकी निखत परविन अंसारीलाई कार्तिक १० गतेभित्र प्रहरी कार्यालयमा उपस्थित गराउने शर्तमा तारेखमा छोडिएको बताएका थिए। तोकिएको मितिमा अंसारीलाई उपस्थित नगराए ठाकुरलाई कारबाही गरिने पाठकले बताएका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) एवं प्रवक्ता हरि बहादुर बस्नेतले कार्तिक १० गतेको म्याद समाप्त भएको ४ दिन बितिसक्दा पनि ठाकुर प्रहरीको सम्पर्कमा नआएको बताए।
डीएसपी बस्नेतले भने, “निखत परविन अंसारी भारतमा बस्दै आएको र उनलाई वीरगञ्जमा ल्याउन केही दिन लाग्ने भएकोले कार्तिक १ गतेदेखि दैनिक तारेखबाट छुटाएर कार्तिक १० गते हाजिर हुन भनिएको थियो । कार्तिक १० गतेको ‘डेटलाइन’ भित्र उसले शर्तअनुसारको काम नगरेकोले प्रहरीले नियन्त्रणमा लिएर कानूनबमोजिम कारबाही गर्नेछ।”
वीरगञ्ज महानगरपालिकाका कर्मचारीलाई अभद्र व्यवहार गरेको भन्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले कानूनबमोजिम कारबाही गर्न प्रहरीलाई लिखित अनुरोध गरेका थिए। स्थानीय सरकारले लिखित अनुरोध गरेको र स्वयम् प्रहरी कार्यालयमा ठाकुरविरुद्ध ठगीसम्बन्धी जाहेरी दर्ता भएको भए पनि एसपी पाठकले उनलाई साधारण तारेखमा छोडेका थिए।
ठगीको मुद्दामा अनुसन्धान “अलपत्र”
संजय ठाकुरविरुद्ध आदर्शनगरका १६ जना जग्गाधनीले आपराधिक लाभ लिने उद्देश्यले कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा असोज ३ गते ठगीको जाहेरी दर्ता गराएका थिए। प्रहरीले उक्त मुद्दा असोज ४ गते दर्ता गरेको भए पनि ठाकुरमाथि उक्त मुद्दामा अनुसन्धान गरिएको छैन।
तत्कालीन प्रहरी उपरीक्षक गौतम मिश्रको सरुवा भएको जानकारी पाएपछि दर्ता भएको मुद्दा भएकोले उक्त मुद्दाको विषयमा व्यापक अध्ययन गरेर मात्र कारबाही अगाडि बढाइने एसपी पाठकले बताएका थिए। उनले भने, “असोज १ गते सरुवा भएको एसपीले ७ गतेसम्म ८५ वटा मुद्दा दर्ता गरेको देखियो। यो अनुसन्धानको विषय भएकोले ८५ वटा फाइल अध्ययनपछि मात्र कारबाही हुनेछ।”
जग्गाको प्रमाण छ, हकभोग छ, किचलो किन ?

तत्कालीन पशुपति आदर्श निर्माण समितिले अधिग्रहण गरी बिक्री गरेको जग्गाको खरिद प्रमाण बोकेर हिँड्ने वीरगञ्ज–१० आदर्शनगरका सुनिल गुप्ता भन्छन्, “न्याय मरेको अवस्थामा देख्दा दिक्क लाग्छ । जेनजी आन्दोलनपछि बनेको सरकारमा पनि भूमाफिया र दलालको राज चल्ने हो कि भन्ने चिन्ता लागेको छ ।”
उनका अनुसार वीरगञ्ज महानगरपालिकाले अधिग्रहण गरी बिक्री गरेको जग्गाको प्रमाण मालपोत कार्यालयमा समेत स्पष्ट रूपमा देखिन्छ । “तर अस्तित्वमा नभएको कागजलाई जगाएर माफियाहरूले दुःख दिन खोजिरहेका छन्,” उनले भने । “नगर विकासबाट खरिद गरेर बनाएको घर मेरै हकभोगमा छ । तर ५० वर्षपछि अस्तित्वमा नभएको पुर्जा बोकेर अर्को व्यक्ति आएर यो जग्गा मेरो हो भन्छ, राज्यका निकाय मौन बस्छन्, किन ?”
आर्दशनगरका प्रदीप कुमार केडियाले विचौलिया संजय कुमार ठाकुरको योजनामा २५ घरधुरीलाई दुःख दिइरहेको गुनासो गर्दै गुप्ताले भने, “न्याय माग्न गयो भने कतै आश्वस्त हुने अवस्था छैन ।” उनका अनुसार प्रदीप केडिया र संजय ठाकुरविरुद्ध जिल्ला प्रशासन र प्रहरी कार्यालयमा जाहेरी दर्ता भए पनि प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएर छानबिन नगरी छोडिदिएकोले राज्यका निकायप्रति भरोसा हराउँदै गएको छ ।
पीडित जग्गाधनीहरूले वीरगञ्जको आदर्शनगरस्थित स्काइलाइन महल, एनआईसी एशिया बैंक, नबिल बैंक, एभरेष्ट बैंक, महालक्ष्मी विकास बैंक, पूजन होटल, कन्टिनेन्टल होटल, सरोवर होटललगायत विभिन्न संस्थाको जग्गामा किचलो खडा गर्ने केडिया समूहका प्रदीप केडिया र विचौलिया संजय ठाकुरलाई कानुनी कारबाहीबाट जोगाउन वीरगञ्ज उद्योग वाणिज्य संघका नेतृत्व समेत लागेको आरोप लगाएका छन् ।
















