१५ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित देशव्यापी जनपरिचालन कार्यक्रम घोषणा गरेको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले यस विषयमा चरणबद्ध जनभेला र जनसभा गर्ने निर्णय गरेको हो।
बैठकका अनुसार आगामी कात्तिक २२ गते देशभरका ६ हजार ७ सय ४३ वटै वडामा जनभेला, कात्तिक २५ गते सबै पालिकामा जनसभा र कात्तिक २९ गते सबै जिल्लामा जनसभा गरिने भएको छ।
त्यस्तै, एमालेले मंसिर ६ गते काठमाडौंमा केन्द्रीय स्तरको विशाल जनसभा गर्ने निर्णय पनि गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
बैठकले विधान महाधिवेशनबाट पारित दस्तावेजहरूलाई अन्तिम रूप दिई छाप्ने निर्णय गरेको छ। साथै, सचिवालय बैठकले चार वटा समसामयिक प्रस्तावहरू पनि पारित गरेको एमालेले जनाएको छ।
एमालेले देशभरका कार्यकर्ता र समर्थकहरूलाई सक्रिय भई जनपरिचालन कार्यक्रम सफल बनाउन आह्वान गरेको छ।

















