Logo

१६ कार्तिक, काठमाडौँ । नेकपा (एमाले)ले आगामी एघारौं महाधिवेशन पोखराको सट्टा काठमाडौंमा गर्ने निर्णय गरेको छ। असोज अन्त्यतिर सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार पार्टीले पोखरामा महाधिवेशनको तयारी थालिसकेको थियो। तर, शनिबार अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास गुन्डुमा बसेको सचिवालय बैठकले महाधिवेशन स्थल परिवर्तन गर्ने निर्णय गरेको हो ।

उपमहासचिव प्रदीप ज्ञवालीले मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशन अब काठमाडौंमा आयोजना हुने बताए। ‘पोखराको सट्टा काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरिएको छ,’ ज्ञवालीले भने ।

यसअघि एमालेले पोखरामा महाधिवेशनको तयारीसँगै शक्ति प्रदर्शनका रूपमा मोटरसाइकल र्‍यालीसमेत आयोजना गरेको थियो। र्‍यालीको नेतृत्व अध्यक्ष ओलीका निकट नेता महेश बस्नेतले गरेका थिए। उक्त र्‍यालीबाट ‘एमाले चुप लागेर बस्दैन’, ‘महाधिवेशन पोखरामा हुन्छ’ र ‘ओली नै अध्यक्ष बन्छन्’ भन्ने तीन सन्देश दिन खोजिएको बताइएको थियो।

तर, सचिवालयको पछिल्लो निर्णयसँगै पार्टीको महाधिवेशन स्थल परिवर्तन भएको छ। स्थायी कमिटी सदस्य खगराज अधिकारीले भने, ‘दुई दिनअघि मात्रै पोखरामा हुने भनिएको महाधिवेशन अचानक काठमाडौं सर्‍यो।’

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार स्थल परिवर्तनका तीन प्रमुख कारण छन्।  काठमाडौंमा महाधिवेशन गर्दा प्रतिनिधिहरूको बसोबास र व्यवस्थापन सजिलो हुने र आर्थिक बोझ कम हुने, जनपरिचालन सहज हुने र व्यापक सहभागिता जुटाउन सकिने, राष्ट्रिय सन्देश दिने दृष्टिले काठमाडौं उपयुक्त हुने कारणले स्थल परिवर्तन गरिएको बताईएको छ ।

‘पोखरामा मात्र कास्कीका कार्यकर्ता जुट्थे, तर काठमाडौंमा देशभरका कार्यकर्ता सहजै आउन सक्छन्,’ गौतमले भने।

बैठक स्रोतका अनुसार अध्यक्ष ओलीले पनि यही कारण देखाउँदै काठमाडौंमा नै महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका थिए। ‘पोखराभन्दा काठमाडौंबाट राम्रो सन्देश दिन सकिन्छ,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले बतायो।

नेताहरूका अनुसार ओलीमाथि सरकारले उपत्यका बाहिर जान रोक लगाएको र सर्वोच्च अदालतले उक्त निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि महाधिवेशन स्थल परिवर्तन गरिएको हो।

‘सरकारको निर्णय र अदालतको अस्वीकारपछि ओलीले नियम पालना गर्ने निर्णय गर्नुभएको हो,’ एक नेताले बताए।

गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङका अनुसार प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित पार्टी आन्दोलनमा जाने तयारीमा रहेको छ। ‘काठमाडौंमै केन्द्रित आन्दोलन र महाधिवेशन एकैसाथ अघि बढाउने निर्णय भएको छ,’ उनले भने।

यससँगै एमालेले आगामी महाधिवेशनमार्फत ‘राष्ट्रिय राजनीतिक सन्देश’ दिने तयारी गरेको बताइएको छ ।


सम्बन्धित समाचार