Logo

१६ कार्तिक, काठमाडौँ । धनुषामा यात्रुबाहक बस र अटो रिक्सा एकआपसमा ठोक्किँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई बालबालिका गम्भीर घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत गणेशमान चारनाथ नगरपालिका–१, वीरेन्द्र बजार नजिक शनिबार साँझ भएको दुर्घटनामा विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र ०१–००१ ख ३२८८ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटो रिक्सालाई ठक्कर दिएको थियो।

दुर्घटनामा अटोरिक्सामा सवार गणेशमान चारनाथ–१, भरतपुरका धनबहादुर पुर्वछाने मगर (४०), शम्भु पुर्वछाने मगर (३५), निशा मगर (३५) र अटोरिक्सा चालक डम्बर राई (४०) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार मृतकमध्ये तीन जना एउटै परिवारका सदस्य हुन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनामा गम्भीर घाइते १४ वर्षीय शीतल मगर र ९ वर्षीय रोशन मगरलाई जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ।

बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए।


सम्बन्धित समाचार