१६ कात्र्तिक, काठमाडौँ । पछिल्लो समय देशका विभिन्न जिल्लाहरूमा भएका सवारी दुर्घटनाका कारण ८ जनाको दुःखद निधन भएको छ ।
धनुषा, सिन्धुली, रुकुम पूर्व र बाजुरा लगायतका जिल्लाहरूमा भएका दुर्घटनाहरूमा उक्त मानवीय क्षति भएको हो । धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ बिरेन्द्रबजार नजिकै शनिवार साँझ भएको दुर्घटनामा बसले अटोलाई ठक्कर दिँदा अटोमा सवार चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा गणेशमान चारनाथ न।पा।–१ का ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर र अटो चालक ४० वर्षीय डमर राई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जनकपुरस्थित न्युरो अस्पताल र प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते भएका अटोका अन्य २ जनाको न्युरो अस्पताल जनकपुरमा उपचार भइरहेको छ भने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अन्य जिल्लामा पनि दुर्घटना
सिन्धुलीको सुनकोसी गाउँपालिका–६ पुछिघाट पुल स्थित सडकमा शनिवार राति ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक रामेछापका २२ वर्षीय डिलबहादुर माझीको उपचारका क्रममा मृत्यु भयो । रुकुम पूर्वको भूमे गाउँपालिका–१ स्यावाल स्थित सडकमा शनिवार साँझ अटो अनियन्त्रित भई दुर्घटना हुँदा अटोमा सवार भूमे गाउँपालिका–१ का ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया सविता घर्तीको जिल्ला अस्पताल रुकुमकोटमा उपचारका क्रममा निधन भएको छ । अटो चालक प्रहरीको नियन्त्रणमा छन् ।
यस्तै, बाजुराको बुढीनन्दा नगरपालिका–७ सास्था स्थित सडकमा शनिवार दिउँसो बस अनियन्त्रित भई दुर्घटना हुँदा बसका सहचालक बैतडीका २४ वर्षीय गणेश जोशीको जिल्ला अस्पताल मार्तडीमा उपचारका क्रममा मृत्यु भयो । यस दुर्घटनामा बसमा सवार अन्य १४ जना घाइते भएका छन्, जसमध्ये ८ जनाको धनगढी, ५ जनाको मार्तडी र १ जनाको कोल्टी अस्पतालमा उपचार भइरहेको छ । बस चालक भने हाल फरार रहेकाले प्रहरीले उनको खोजी कार्य जारी राखेको छ ।
















