Logo

१७ कात्तिक,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका ई–रिक्सा, अटो रिक्सा तथा अन्य तीन पाङ्ग्रे भाडाका सवारी साधनहरूलाई अनिवार्य रूपमा दर्ता गर्न सूचना जारी गरेको छ।

नगरकार्यपालिकाको कार्यालयले सोमबार सार्वजनिक गरेको सूचनामा सवारीधनीहरूलाई आगामी मंसिर ७ गतेभित्र कार्यालयमा रितपूर्वक निवेदन दिई सवारी साधन दर्ता गराउन अनुरोध गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण द्वारा जारी सूचनामा ‘ई–रिक्सा, अटो रिक्सा तथा तीन पाङ्ग्रे भाडाका सवारी साधन दर्ता सम्बन्धी कार्यविधि, २०७६’ बमोजिम दर्ता प्रक्रिया अघि बढाउने उल्लेख गरिएको छ।

महानगरपालिकाका अनुसार दर्ता नगरेका सवारी साधनहरूलाई रुट इजाजत प्रदान नगरिने र महानगर क्षेत्रभित्र सञ्चालन गर्न अनुमति नदिइनेछ।

सवारी दर्ताका लागि निवेदन दिँदा आवश्यक पर्ने कागजातमा अनुसूची अनुसारको निवेदन फारम, सवारीधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी, सवारीसाधनको ब्लुबुक, सवारी चालक अनुमतिपत्र, सवारीधनी/चालकको पाँच प्रति फोटो र सवारी जाँचपासको प्रतिलिपी संलग्न गर्नुपर्ने जनाइएको छ।

वीरगंज महानगरपालिकाले यसअघि पनि पटक–पटक दर्ताका लागि आह्वान गरेको थियो। यसपटक भने महानगरले अन्तिम म्याद तोकेर कडाइका साथ दर्ता प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।


सम्बन्धित समाचार