Logo

१७ कात्तिक,सिम्रौनगढ  । सिम्रौनगढका किसानहरूले आफ्नो बालीको क्षतिपूर्ति माग गर्दै आज सिम्रौनगढ नगरपालिका घेराउ गरेका छन्। असिना पानी, आँधी–हुरीले बाली नष्ट भएको लामो समय बितिसक्दा पनि क्षतिपूर्ति नपाएपछि किसानहरू पुनः सडकमा उत्रिएका हुन्।

गत २०८२ साल वैशाख १४ गतेको असिना पानी र हुरीका कारण किसानहरूको धान, गहुँ, तरकारी लगायतका बालीहरूमा ठूलो क्षति पुगेको थियो। सो घटनापछि किसानहरूले आन्दोलन गरेका थिए र त्यसबेला नगरपालिकाले प्रत्येक कठ्ठा बालीका लागि ५ हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो।

नगरपालिकाले साउन १० गतेदेखि १५ गतेसम्म क्षतिपूर्ति वितरण गर्ने जनाएको थियो। तर तोकिएको समय भित्र रकम नपाएपछि किसानहरूले पुनः आन्दोलन थालेका हुन्।किसान आन्दोलन संघर्ष समितिका अध्यक्ष धुर्व प्रसाद कुशवाहाका अनुसार, “पाँच महिना बित्दा पनि क्षतिपूर्ति रकम नआएपछि बाध्य भएर फेरि आन्दोलनमा जानु परेको हो।”

आन्दोलन चर्किएपछि नगर प्रमुख किशोरी प्रसाद कलवारले किसान प्रतिनिधिसँग वार्ता गरेका छन्। धुर्व प्रसाद कुशवाहाको नेतृत्वमा ११ सदस्यीय किसान टोली वार्तामा सहभागी भएको थियो।

वार्तामा किसान तर्फबाट दीपेन्द्र कुशवाहा, कपिलदेव महतो, रामप्रवेश कुशवाहा, सुनिल कुशवाहा, सन्दीप कुमार कुशवाहा, नगीनालाल प्रसाद, गगनदेव कुशवाहा लगायत रहेका थिए। नगरपालिका तर्फबाट नगर प्रमुख कलवार, उप–मेयर नजमु शेहर, उप–सचिव मदन कुमार थापा, कृषि शाखा प्रमुख शेख अनसारुल, सुरेश यादव, र विभिन्न वार्ड अध्यक्षहरू सहभागी थिए।

लगभग तीन घण्टा चलेको वार्तापछि, नगर प्रमुख कलवारले नगरपालिका माथि परेको कानुनी मुद्दा टुंगो लाग्ने बित्तिकै क्षतिपूर्ति वितरण गरिने बताए।
उनले भने, “माघ १५ गतेभित्र सूचित भएका किसानहरूको खातामा रकम पठाइनेछ।”

किसानहरूले भने सो म्यादभित्र रकम नआए थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।


सम्बन्धित समाचार