Logo

१८ कात्र्तिक, काठमाडौं । दोलखाको दुर्गम रोल्वालिङ क्षेत्रमा गएको हिमपहिरोमा परी तीन जनाको मृत्यु भएको पुष्टि भएको छ भने घाइते भएका चार जनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको छ ।

यलुङ रि हिमालको बेसक्याम्पनजिकै सोमबार यो दुःखद घटना भएको थियो  । जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी ज्ञानकुमार महतोका अनुसार हिमपहिरोमा परेर हालसम्म दुई नेपाली र एक विदेशी नागरिक गरी तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । मृतकका शवहरू अहिले पनि घटनास्थलमै रहेका छन्  ।

चार विदेशी आरोही बेपत्ता

प्रारम्भिक जानकारीमा आठ जना बेपत्ता भएको भनिए पनि डीएसपी महतोले चार जना विदेशी नागरिक मात्रै बेपत्ता रहेको जानकारी दिएका छन्। उनले बेपत्ता हुनेमा नेपाली नागरिक नरहेको बताउँदै चारैजना विदेशी आरोही रहेको बताएका छन् ।

उद्धार कार्य जारी

घटनास्थलमा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धारको काम गरिरहेको छ । प्रहरी र सेनाको टोली हिजै घटनास्थलतिर गए पनि प्रतिकूल मौसमका कारण आज बिहानबाट मात्रै उद्धारको काम सुरु भएको हो । हिमपहिरो गएको ठाउँमा सात नेपाली र सात विदेशी गरी कुल १४ जनाको टोली गएको खुलेको छ । घाइते अवस्थामा बेसक्याम्प पुगेका चार जना आरोहीले खबर गरेपछि मात्रै यो घटनाबारे जानकारी बाहिर आएको थियो ।

हिमपहिरोमा परेर घाइते भएका चार जनालाई आज बिहान घटनास्थलबाट हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको डीएसपी महतोले जानकारी दिएका छन् । यद्यपि, प्रहरीले मृतक र घाइतेहरूको नाम भने अझै खुलाएको छैन ।


सम्बन्धित समाचार