Logo

१८ कात्र्तिक, काठमाडौंं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने भएको छ । निर्वाचन आयोगले यसअघिका चुनावमा प्रयोग भएका मतपेटिकाहरू पुनः प्रयोग गर्न मिल्ने जनाउँदै मतपेटिकाको भण्डार पर्याप्त रहेको स्पष्ट पारेको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, आयोगसँग आवश्यक पर्ने मतपेटिका ‘शतप्रतिशत नै’ उपलब्ध छन् ।

साढे सात अर्बको बजेट प्रस्ताव

मतपेटिकाको बचत भए तापनि निर्वाचन सञ्चालनका लागि भने आयोगले साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने अनुमानसहितको बजेट तयार पारेर अर्थ मन्त्रालयमा पठाएको छ। यो बजेट अन्य आवश्यक सामग्री खरिद र निर्वाचन प्रक्रियाका लागि तयार गरिएको हो । प्रवक्ता भट्टराईले मतपेटिका पर्याप्त भए पनि अन्य आवश्यक सामग्रीहरूको खरिदका लागि बजेट तयार गरिएको जानकारी दिए ।

बजेट स्वीकृतिको प्रतीक्षामा आयोग

आयोगले अर्थ मन्त्रालयबाट बजेट स्वीकृत हुनेबित्तिकै निर्वाचनका लागि आवश्यक सामग्रीहरूको सूची तयार गरी खरिद प्रक्रिया सुरु गर्ने तयारी गरेको छ ।
अघिल्ला निर्वाचनका सामग्रीहरूलाई पनि अधिकतम प्रयोग गर्ने नीति आयोगले लिएको छ । मतपेटिका लगायत यसअघि नै रहेका प्रयोग गर्न मिल्ने सामग्रीहरूलाई पुनः उपयोग गरिने आयोगले जनाएको छ ।


सम्बन्धित समाचार