१८ कात्र्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना ११ जना कार्यकारी निर्देशकहरूको सरुवा र पदस्थापन गरेको छ ।
गभर्नर विश्वनाथ पौडेलले गत कात्तिक १७ गते गरेको यो निर्णय भोलिबाट कार्यान्वयनमा आउने भएको छ । राष्ट्र बैंकको विभिन्न विभागमा भएका हेरफेर अनुसार, विदेशी विनिमय व्यवस्थापन विभागबाट रेवती प्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा पठाइएको छ भने मुद्रा व्यवस्थापन विभागका रामु पौडेललाई बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मेवारी दिइएको छ। त्यसैगरी, गभर्नरको कार्यालयमा रहेका राजन विक्रम थापालाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।
यता, मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत विश्रुत थापालाई वित्तीय संस्था सुपरिवेक्षण विभागको जिम्मा दिइएको छ भने संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागबाट अनुज दाहाललाई मुद्रा व्यवस्थापन विभागमा लगिएको छ। मौद्रिक व्यवस्थापन विभागमा रहेका दयाराम शर्मालाई गभर्नरको कार्यालयमा तानिएको छ भने बैंकिङ विभागका डा. डिल्लीराम पोख्रेललाई मौद्रिक व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ।
अन्य सरुवामा, बैंक तथा वित्तीय संस्था नियमन विभागबाट गुरुप्रसाद पौडेललाई मानव संसाधन व्यवस्थापन विभागमा, भुक्तानी प्रणाली विभागबाट किरण पण्डितलाई विदेशी विनिमय व्यवस्थापन विभागमा र वित्तीय संस्था सुपरिवेक्षण विभागका डा। सत्येन्द्र तिमिल्सिनालाई भुक्तानी प्रणाली विभागमा पदस्थापन गरिएको छ । अन्त्यमा, सम्पत्ति तथा सेवा व्यवस्थापन विभागबाट रोशन कुमार सिग्देल बैंकिङ विभागमा पुगेका छन् ।

















