Logo

१८ कात्र्तिक, काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–१ मा अवस्थित पाङबारी हिमालको आरोहणमा गएका र पाँच दिनदेखि बेपत्ता रहेका दुई इटालियन आरोहीहरूको शव आज फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार, पाङबारी हिमालको पहिलो शिविर (क्याम्प–१० नजिकै ५१ वर्षीय फारोनातो स्तेफानो र २८ वर्षीय कापुतो अलेस्सान्द्रोको शव फेला परेको हो । प्रहरीका अनुसार दुवै आरोहीको शव हिउँले पुरिएको अवस्थामा भेटिएको थियो ।

फेला परेका शवहरूलाई हेलिकोप्टरमार्फत उद्धार गरी सामागाउँ ल्याइएको छ। गत बुधबार पाङबारी हिमालबाट फर्कने क्रममा तीन इटालियन नागरिक र उनीहरूका एक नेपाली सहयोगी पहिलो शिविर र आधार शिविरमा अलपत्र परेका थिए। सोही समूहमा अलपत्र परेका ६४ वर्षीय भेल्टर परलिनोको भने गत आइतबार नै हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।

परलिनोसँगै रहेका नेपाली सहयोगीहरू पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि सोही दिन उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिएका छन् ।


सम्बन्धित समाचार