Logo

१८ कार्तिक, काठमाडौं । दोलखाको रोल्वालिङ क्षेत्रमा गएको हिमपहिरोको घटनामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ भने आठ जना घाइतेको उद्धार गरी काठमाडौँ पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार, यलुङ रि हिमाल क्षेत्रमा गएको हिमपहिरोमा परी एक विदेशी र दुई नेपाली गरी तीन जनाको मृत्यु भएको पसष्टि भएको हो । दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञान कुमार महतोका अनुसार घटनास्थलमा फेला परेका शवहरूमा दोलखाको गौरीशंकर गाउँपालिका–९ सिमिगाउँका पदम तामाङ र सोलुखुम्बु घर भएका मेरे कार्की रहेका छन् । उनीहरू विदेशी पर्यटकका टुरिस्ट गाइड र सहयोगीका रूपमा गएका थिए । फेला परेको एक विदेशीको शव भने पहिचान हुन बाँकी रहेको प्रशासनले जनाएको छ।

बेपत्ता सबै विदेशी

स्थानीय प्रशासनका अनुसार, हिमपहिरोमा परि बेपत्ता रहेका विदेशी नागरिकहरूमा इटालियन नागरिक पाओलो कोक्को र मार्कुस किर्चेह्लर, क्यानेडियन नागरिक मार्को डी मार्सेलो, फ्रान्सका म्यानफ्रेडी क्रिस्चियन आन्द्रे र जर्मनीका आरोही जाकोब श्राइबर रहेका छन् । यीमध्ये एक जनाको शव फेला परे पनि कसको हो भन्ने पुष्टि हुन बाँकी छ, जसले गर्दा चार जना विदेशी पर्यटक अझै बेपत्ता रहेका छन् ।

८ जनाको हेलिकोप्टरमार्फत उद्धार

हिमपहिरोमा परी घाइते भएका तीन विदेशी र पाँच नेपाली गरी कूल आठ जनाको उद्धार गरी हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको डीएसपी महतोले जानकारी दिएका छन्। उद्धार गरिएका नेपालीहरूमा टुरिस्ट गाइड तथा सहयोगीका रूपमा गएका दोलखा गौरीशंकर गाउँपालिका–९ बेदिङका निमा गेज्लेन शेर्पा, लाक्पा तामाङ, सुन बहादुर गुरुङ, स्याङ्जाका राजु गुरुङ र छुल्ठिम डोल्मा गुरुङ रहेका छन् । ठूलो हिमपहिरो आएका कारण बेस क्याम्पमा टेन्ट टाँगेर बसेका विदेशी र नेपालीहरू एकैसाथ पुरिएका थिए ।

खोजी कार्य जारी

बेपत्ता चार विदेशी पर्यटकको खोजी कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ । ड्रिमर्स डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीका फाउण्डर तथा विश्व विख्यात आरोही फुर्वा तेन्जिङ शेर्पाको टोली ना गाउँमा रही खोजी कार्यमा जुटेको छ । १५ पटक सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका शेर्पाको टोलीले खोजी कार्य जारी राखे पनि बेपत्ताहरू जिवितै भेटिने सम्भावना कम रहेको जनाइएको छ।


सम्बन्धित समाचार