Logo

१९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई नख्खु कारागारबाट आज उच्चस्तरीय जाँचबुझ आयोगको सोधपुछका लागि सिंहदरबार लगिँदैछ। आयोगले लामिछानेसँग २४ भदौमा नख्खु कारागारबाट उनी बाहिर निस्किएको घटनाबारे बयान लिने तयारी गरेको छ।

गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको जाँचबुझ आयोगले बुधबारका लागि लामिछानेलाई बयानका लागि बोलाएको हो। आयोगको टोलीले उनलाई सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थित गराई सोधपुछ गर्ने बताइएको छ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि नख्खु कारागारमा रहेका थिए। तर, २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै बाहिर निस्किएका थिए। कारागार प्रशासनले त्यसबेला जारी गरेको भनिएको पत्रको प्रामाणिकतामाथि प्रश्न उठेपछि लामिछाने पुनः कारागार फर्किएका थिए।

जाँचबुझ आयोगले सोमबार उक्त घटनाको वस्तुस्थिति बुझ्न कारागारमै पुगेर निरीक्षण गरेको थियो। त्यसअघि आयोगले कारागार प्रमुख सत्यराज जोशीसँग पनि बयान लिएको थियो।

आयोगले लामिछानेसँग आजको सोधपुछपछि घटनासम्बन्धी प्रारम्भिक निष्कर्ष तयार पार्ने तयारी गरेको बुझिएको छ।


सम्बन्धित समाचार