Logo

२१ कार्तिक, सर्लाही । सर्लाहीको कविलासी नगरपालिका–६, मदनपुर बजार नजिक ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

घटना बिहीबार साँझ सलेमपुर–मदनपुर–बरहथवा सडकखण्ड अन्तर्गत मदनपुर बजारदेखि करिब ५०० मिटर पूर्वतर्फ भएको हो। सलेमपुरबाट बरहथवातर्फ गइरहेको ज १ त ६२०३ नम्बरको ट्र्याक्टरमा सोही दिशातर्फ गइरहेको बा ४७ प ९८९२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका–५, मोहनपुर निवासी ४२ वर्षीय सुरेन्द्र ठाकुर लोहारको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। मोटरसाइकलमा पछाडि सवार बरहथवा नगरपालिका–७ का १९ वर्षीय राजु ठाकुर लोहार गम्भीर घाइते भएका छन्।

घाइते राजुलाई प्रारम्भिक उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवामा लगिएको र त्यहाँबाट थप उपचारका लागि बिहीबार राति नै राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

दुर्घटनापछि ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय हरिपुरमा राखेको छ। तर, ट्र्याक्टर चालक भने घटनापछि फरार भएको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार