२३ कार्तिक, वीरगञ्ज । भारतको रक्सौलका एक प्रतिष्ठित उद्योगीले आफ्नी श्रीमतीको नाउँमा रहेको नेपाली नागरिकतालाई दुरुपयोग गरी नेपालका वाणिज्य बैंकबाट करोडौं रुपियाँ ऋण लिने असफल प्रयास गरेका छन् ।
रक्सौलका व्यापारी रिपुसुदन प्रसादले आफ्नी श्रीमती प्रीति देवीका नाममा बाराको नितनपुरस्थित शिवम् आयल रिफाइनर्स उद्योग सञ्चालनका लागि ग्लोबल आइएमई बैंकबाट झण्डै २० करोड रुपैयाँ कर्जा लिने प्रयास गरेका थिए ।
रिपुसुदन र उनका परिवार भारतमा शिवम् आयल रिफाइनरी उद्योग, शिवम् मोर्डन राइस इन्डस्ट्रिज, शिवम् रोलर फ्लावर मिल, शिवम् कोल्ड स्टोरेज, र मेन रोडस्थित एम बजार लगायतका व्यवसाय सञ्चालन गर्दै आएका छन्। श्रीमतीको माइतीघरको नागरिकता दुरुपयोग गर्दै उनले नेपालमै उद्योग र वित्तीय कारोबार सञ्चालन गर्न खोजेको खुलासा भएको हो।
वीरगञ्ज महानगर–६ रेशमकोठी निवासी वलराम प्रसाद कलवारकी माइली छोरी प्रीति देवीले करिब २६ वर्षअघि रक्सौलका रिपुसुदनसँग विवाह गरेकी थिइन्। विवाहपछि उनले भारतको पूर्वी चम्पारण, रक्सौल नगरपरिषद–१२ मा मतदाता सूचिमा नाम दर्ता गराई भारतीय नागरिकता प्राप्त गरेकी थिइन्।
तर, विवाहपूर्व नेपालमै लिएको नागरिकताको प्रयोग गरेर उनले नेपालका विभिन्न बैंकमा खाता सञ्चालन, कारोबार र कम्पनी दर्ता समेत गरेकी छिन्। जिल्ला प्रशासन कार्यालय पर्साबाट २०५३ साल असार १३ गते जारी गरिएको उनको नागरिकता प्रमाणपत्र नम्बर ५६२ रहेको छ।
आमाको सम्पत्ति धितो
प्रीति देवीले आफ्नी आमा शान्तिदेवी कलवारको नाममा रहेको काठमाडौं महानगर–२४ स्थित ४५.७१ वर्गमिटरको घर र वीरगञ्ज महानगर–६ रेशमकोठीस्थित घर ग्लोबल आइएमई बैंकमा धितो राखी उद्योग सञ्चालनका लागि ऋण लिन खोजेको प्रिती कुमारीको भनाई छ ।
वीरगञ्ज महानगरपालिका वडा नंं. १६ स्थित नगवामा रहेको ३२ कठ्ठा जग्गा भने बलरामका दाजु गोपाल प्रसाद कलवारको नाउँमा अंश बापतको रहेको भएपनि रिपु सुदनले मालपोत र अदालतलाई मिलाएर सासु शान्तिदेवीको नाउँमा १६ कठ्ठा जग्गा कब्जा गर्न सफल भएका थिए । उक्त जग्गा समेत अहिले विवादमा छ । यस्तै विवादीत जग्गा बैंकमा राखेर धितो भन्दा ४ गुणा रकम लिन खोजेको देखिएपछि बैंकले लगानी समेत रोकिदिएको छ ।
ग्लोवल आइएमई कमलादी शाखाका एक कर्मचारीका अनुसार शिवम् आयल रिफाइनर्स उद्योगका बारेमा विवाद रहेको र भारतीय नागरिकसँग विवाह गरेकी महिलाले नेपाली नागरिकता दुरुपयोग गरि बैंकबाट कर्जा लिन खोजेको भन्ने विभिन्न मिडियामा समाचार आएपछि लगानी प्रकृया नै रोकिएको हो ।
रौतहटको गौरमा घर भई हाल काठमाडौंको कुलेश्वरमा कपडाको व्यापार गर्दे आएका व्यवसायी प्रमोद कुमार चौधरी (कलवार) र पवन कुमार साहको सिफारिसमा ग्लोबल आइएमई बैंकले २० करोड कर्जा प्रवाह गर्ने अन्तिम चरणमा पुगेको थियो । पवन कुमार साह शिवम् आयल रिफाइनर्स उद्योगका अर्का सञ्चालक शिवम् साहका बुबा हुन ।
पवन साहले आफ्ना छोरा शिवम् साह र प्रीति देवीको नाममा शिवम् आयल रिफाइनर्स उद्योग प्रा.लि. २०८१ चैत ६ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गराएका थिए। उद्योग भने बाराको नितनपुरमा साहकै पुरानो दालमिल रहेको जग्गामा स्थापना गरिएको हो।
दुई सञ्चालक रहेको उद्योगको अधिकृत पूँजी २५ करोड र जारी पूँजी ११ करोड भए पनि, प्रीति देवीले एक्लैले २० करोड ऋण लिन खोजेको देखिन्छ । प्रिती देवीले आमाको सम्पत्ति राखेर कर्जा लिन खोजेको देखिन्छ, ग्लोबल आइएमई बैंकका ती कर्मचारीले भने । अर्का लगानीकर्ता पवन कुमार साहले समेत प्रिती देवीसँग पाटर्नसिपमा उद्योग संचालन नगर्ने जानकारी बैंकलाई दिएका छन् ।
प्रिती देवीले आफ्नो माइतीघरमो परिवारमा कुनै छोरा नभएको र ४ दिदी वहिनीहरुको भारतमा विवाह भएकोले आफ्नो बुवाको पुख्यौर्ली सम्पत्तिमा आफ्नो हक लाग्ने भएकोले आमाको नाउँमा रहेको सम्पत्तिलाई बैकमा राखेर उद्योग व्यवसाय चलाउन खोजेको बताई ।
विवाह गरेर गएपनि विवाह पूर्व लिएको आफ्नो नागरिकता भएकोले त्यसैबाट बैधानीक रुपमा कारोवार गरेको उनको भनाई छ । भारतबाट आधार कार्ड र भोटर आइडी लिएको भएपनि पैतृक सम्पतिको लागि नागरिकता समेत प्रयोग गरेको प्रितीको भनाई छ ।
काठमाडौं महानगर–२४ स्थित कित्ता नम्बर १६९१ को ४५.७१ वर्गमिटरको घरलाई बैंकले १ करोड ५८ लाख ३० हजार मूल्यांकन गरेको थियो। तर सो घितोमा २० करोड रुपैयाँ ऋण स्वीकृत गरिएको देखिन्छ। यस्तै, वीरगञ्जको रेशमकोठीस्थित १ कठ्ठा जग्गा र त्यसमाथिको घरमा ७ करोड रुपैयाँ ऋण स्वीकृत भएको बैंक स्रोतले जनाएको छ।
अवैध नागरिकता प्रयोग र कानुनी प्रावधान
संविधान र नागरिकता ऐन, २०६३ अनुसार, कुनै नेपाली नागरिकले विदेशी नागरिकता ग्रहण गरेपछि उसको नेपाली नागरिकता स्वतः समाप्त हुन्छ। त्यसपछि पनि पुरानो नागरिकता प्रयोग गरी व्यवसाय वा सम्पत्ति कारोबार गर्नु अवैध कार्य मानिन्छ।
नागरिकता ऐनको दफा २१ अनुसार, “अयोग्य अवस्थामा नागरिकता लिएको वा प्रयोग गरेको व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्छ।”
त्यस्तै, नागरिकताको दुरुपयोग गरी कम्पनी दर्ता, बैंक खाता सञ्चालन वा सम्पत्ति खरिद बिक्री गरेमा कम्पनी ऐन, सहकारी ऐन वा मनी लन्डरिङ निवारण ऐन अन्तर्गत पनि कारबाही हुन सक्ने कानुनी व्यवस्था छ। यस्तो सम्पत्ति राज्यले जब्त गर्न समेत सक्नेछ।

















