Logo

२६ कार्तिक, काठमाडौँ । नेकपा (एमाले) का पूर्व उपाध्यक्ष भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ आज नेपाली कम्युनिस्ट पार्टीमा औपचारिक रूपमा समाहित हुँदैछ।

गत आइतबार प्रचण्ड–माधव नेपालसहितका शीर्ष नेताहरूसँग भएको अन्तिम संवादपछि रावल नेतृत्वको अभियान नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा विलय हुने सहमति भएको थियो।

यसका लागि आज दिउँसो काठमाडौँमा “बृहत् पार्टी समायोजन कार्यक्रम” आयोजना गरिएको नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाले जानकारी दिए। उनका अनुसार, कार्यक्रममा पार्टीका शीर्ष नेताहरू, प्रदेश र जिल्ला स्तरका संरचना, रावल समूहका प्रतिनिधिहरू तथा विभिन्न राजनीतिक दलका पर्यवेक्षकहरू सहभागी हुनेछन्।

रावलले पछिल्ला केही महिनादेखि पार्टीभित्रको नीतिगत विचलन, नेतृत्व शैली र राष्ट्रिय स्वाधीनताको सवालमा असन्तुष्टि जनाउँदै ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गरेका थिए। अभियानमार्फत उनले राष्ट्रियता, जनजीविका र स्वच्छ राजनीतिक अभ्यासलाई प्रमुख एजेन्डा बनाएका थिए।

नेता प्रकाश ज्वालाले भने, “रावलज्यूको नेतृत्वमा सञ्चालन भएको अभियान हाम्रो पार्टीको नीति, सिद्धान्त र दिशासँग मिल्दो छ। त्यसैले उहाँहरूको समायोजनले पार्टीलाई वैचारिक र संगठनात्मक रूपमा थप बलियो बनाउनेछ।”

पार्टी स्रोतका अनुसार, समायोजनपछि भीम रावललाई नयाँ संरचनामा प्रमुख जिम्मेवारी दिने तयारी छ। उक्त कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, तथा अन्य केन्द्रीय नेताहरूको उपस्थिति रहनेछ।

राजनीतिक विश्लेषकहरूले रावलको समायोजनलाई वाम शक्तिहरूबीच पुनः एकताको संकेतका रूपमा व्याख्या गरेका छन्।


सम्बन्धित समाचार
भर्खरै