Logo

२६ कात्र्तिक,काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले जेन–जी आन्दोलनका क्रममा भदौ २३ गते भएको घटनाको मुख्य दोषी तत्कालीन सरकार रहेको कडा टिप्पणी गरेका छन् ।

चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले तत्कालीन सरकारका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले ुगोली कसले चलायो थाहा छैनु भन्नु गलत भएको जिकिर गरे। ‘धरहरा कसले बनायो भन्दा तत्कालीन सरकारले बनाएको भन्ने तर, गोली कसले चलायो भन्दा थाहा छैन भन्नु गलत हो,’ पाण्डेले भने। उनले २३ गतेको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग गरेका छन् र पहिलो दिनको घटनाजत्तिकै २४ गतेको घटना पनि अक्षम्य रहेको उल्लेख गर्दै कानूनी शासनका लागि दुवै दिनका दोषीले उन्मुक्ति पाउन नहुनेमा जोड दिए ।

उपाध्यक्ष पाण्डेले यो घटना एमाले सरकारमा रहँदा भएको कारणले पार्टीले छानबिनमा सघाएर यसको दागबाट मुक्त हुनुपर्ने बताए, अन्यथा माओवादी नेता कार्यकर्ता जस्तै सधैँ त्रासमा बस्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए । उनले जेन–जी आन्दोलनलाई एमालेको ठूलो कमजोरीको उपजको रूपमा दाबी गर्दै यति ठूलो आन्दोलन र विध्वंसको सूचना पार्टी र सरकारी संयन्त्रहरूले नपाउनु गम्भीर त्रुटि भएको बताए ।

अर्को एक प्रसङ्गमा, उपाध्यक्ष पाण्डेले टेको लाउने शक्ति नै नभएको वर्तमान सरकारले आसन्न चुनाव गराउन सक्नेमा शङ्का व्यक्त गरेका छन्। उनले फागुन २१ मा चुनाव गराउन निकै कठिन रहेको बताउँदै, प्राविधिक, राजनीतिक र मनोवैज्ञानिक तयारी नै सरकारको नपुगेको टिप्पणी गरे। यद्यपि, चुनाव नभएको अवस्थामा देश अझ अन्योलमा जाने उनको भनाइ छ। पार्टीको आसन्न महाधिवेशनबारे बोल्दै उनले नेतृत्वका लागि निर्वाचन हुने र प्रतिस्पर्धालाई कसैले रोक्न नसक्ने दाबी गरे।


सम्बन्धित समाचार
भर्खरै