Logo

२६ कात्र्तिक, काठमाडौं । सन् २०२५ का लागि विश्वमा सबैभन्दा बढी प्रभाव पार्ने शीर्ष २ प्रतिशत वैज्ञानिकहरूको प्रतिष्ठित सूचीमा ३१ जना नेपाली अनुसन्धानकर्ताहरू परेका छन् ।

अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीले एल्सेभियरसँगको सहकार्यमा स्कोपस डाटाबेसबाट वैज्ञानिक उत्पादन तथा बिब्लियोमेट्रिक प्रभावको विश्लेषण गरी तयार पारेको यो वार्षिक ग्लोबल र्‍याङ्किङमा नेपाली वैज्ञानिकहरूको उपस्थिति भएको हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्टं)का वैज्ञानिक डा. निरञ्जन कोइरालाका अनुसार, यस सूचीले अनुसन्धान, आविष्कार र दिगोपनको माध्यमबाट विश्वव्यापी प्रभाव पार्ने अनुसन्धानकर्ताहरूलाई चिनाउँछ ।

यस सूचीमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट सबैभन्दा बढी ७ जना अनुसन्धानकर्ताहरू समावेश छन्, जसमा डा. अजय भट्टराई, रमेश प्रसाद अधिकारी, भीष्म कार्की, निरञ्जन पराजुली, रामप्रसाद शर्मा, गोविन्द प्रसाद ढुंगाना र त्रिवि शिक्षण अस्पतालका रञ्जित कुमार साह रहेका छन् । यसैगरी, नेपाल हेल्थ रिसर्च काउन्सिल (एनएचआरसी), बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान ९बीपीकेएच० र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र बाट पनि २/२ जना वैज्ञानिकहरू शीर्ष सूचीमा परेका छन् ।

नाष्टका वैज्ञानिक डा.निरञ्जन कोइराला स्वयं पनि यो प्रतिष्ठित सूचीमा परेका छन्, जसलाई उनले नेपालको औषधीय वनस्पति र जडिबुटीमा लुकेको सम्भाव्यतामाथिको अन्तर्राष्ट्रिय अनुसन्धानका लागि प्राप्त मान्यता बताएका छन् ।  उनले नेपाल चाँडै नै प्राकृतिक उत्पादनमा आधारित फाइटो-फार्मास्युटिकल औषधिको अग्रणी उत्पादक तथा निर्यातकर्ता बन्ने र देशको अर्थतन्त्रमा रूपान्तरण ल्याउने विश्वास व्यक्त गरे  ।

सूचीमा काठमाडौं इन्स्टिच्युट अफ कम्प्लक्स फ्लोज, ग्लोबल सेन्टर फर रिसर्च एण्ड डेभलपमेन्ट, काठमाडौं विश्वविद्यालय लगायत विभिन्न संस्थाका वैज्ञानिकहरू समावेश छन्  ।


सम्बन्धित समाचार
भर्खरै